काठमाडौँ- अबको १० दिनपछि हिन्दू नेपालीहरूको महान् पर्व बडादसैँ सुरु हुँदैछ।
असोज २८ गते घटस्थापनासँगै सुरु हुने दसैँमा स्वदेश र विदेशका नेपालीहरु घर फर्किन्छन्।
दसैंका बेला सरकारले पनि यात्रुहरुको सहजताका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ गर्ने गरेको छ।
यातायात व्यवस्था विभाग अग्रिम टिकट बुकिङ गर्न यातायात व्यवसायीहरुसँग समन्वय गर्दै आएको छ।
अघिल्ला वर्षहरुमा दसैंको १५ देखि एक महिना अघि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने गरेको थियो। तर, यसपालिको दसैंका लागि भने अहिलेसम्म अग्रिम टिकट बुकिङ अझै खुलेको छैन।
यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीसँग निरन्तर छलफल गरिरहे पनि कहिलेदेखि अग्रिम टिकट खुल्छ, अझै अनिश्चित नै छ। जसका कारण, सहरबाट लामो यात्रामा जाने यात्रुहरुलाई चिन्ता बढ्न थालेको छ।
यातायात व्यवसायीहरुले गाडीभाडा वृद्धि नभएको, सडक मर्मत नभएको र रुट पर्मिट नपाएको भन्दै अग्रिम टिकट बुकिङ खुलाउन चाहिरहेका छैनन्। विभागले एक/दुई दिन अघि देखि यातायात व्यवसायीसँग छलफल गरिरहे पनि सहमति जुट्न सकेको छैन।
दसैंको अग्रिम टिकट बुकिङ खुलाउनका लागि यातायात व्यवसायी र सम्वद्ध निकायसँग छलफल भइरहेको विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल बताउँछन्। यातायात व्यवसायीलाई सहमतिमा ल्याएर अबको २/४ दिनभित्रै अग्रिम टिकट खुलाउने रिजालले बताए।
‘हामी दसैंको अग्रिम टिकट बुकिङ छिट्टै नै खुलाउन निरन्तर यातायात व्यवसायी र सम्बद्ध निकायसँग छलफलमै छौं,’ उनले भने, ‘२-४ दिनभित्र सहमति गरी अग्रिम टिकट बुकिङ खुलाउँछौं।’
उनका अनुसार असोज २० वा २१ गतेसम्म अग्रिम टिकट खुल्नेछ।
दसैंका बेला भाडादर समायोजन नभएको र सडक मर्मत नभएको बताउँदै यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खुलाउन चासो देखाइरहेका छैनन्।
दसैंको अग्रिम टिकट बुकिङ खुल्न अझै केही समय लाग्ने महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन्।
‘अझ केही समय लाग्छ। बाटोको अवस्था बिजोक छ। भाडा समायोजन र रुट पर्मिट दिइएको छैन्,’ उनले भने, ‘विभागले यी कुरामा समन्वय गरिरहेको छैन्।’
तीन वर्षदेखि रोकिएको भाडा समायोजनको विषय सम्बोधन हुनुपर्ने उनी बताउँछन्।
त्यतिमात्र होइन, महत्वपूर्ण राजमार्ग तथा सडकको मर्मत छिट्टै हुनुपर्ने यातायात व्यवसायीको माग छ।
अहिले काठमाडौं उपत्यका छिर्ने नाका नागढुंगा देखि मुग्लिनसम्म सडक मर्मतको काम चलिरहेको छ। त्यसखण्डमा खाल्डाखुल्डी र वर्षाका कारण बाढीले सडक बिगारेको छ।
त्यस्तै, नारायणगढ– बुटवल र मुग्लिन–पोखरा सडक खण्ड पनि मर्मत र विस्तारकै क्रममा हुँदा ती सडकहरुमा खाल्डाखुल्डी र हिलो उत्तिकै छ। जसका कारण, सडक दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको यातायात व्यवसायीहरु बताउँछन्।
यद्यपl, यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि गाडीहरु भाडामा लिएर सेवा दिने व्यवसायीहरुले बताएका छन्। दसैंका बेला बर्षेनी २० देखि २२ लाख यात्रुहरुले काठमाडौं छाड्ने गरेका छन्।


