काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका सुझाव समग्र अर्थतन्त्रको हितमा हुने गरेको बताएका छन्।
बुटवल उद्योग वाणिज्य संघको ७०औँ वार्षिक साधारणसभालाई शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
निजी क्षेत्रले समग्र व्यवसाय, अर्थतन्त्र र आमजनतालाई हित हुने गरी अनुभव र अनुसन्धानमा आधारित भएर सरकार तथा यसका निकायहरुलाई सुझाव दिँदै आएको उनको भनाइ छ।
‘सरकार र त्यसका निकायले ती सुझावलाई निजी क्षेत्रको व्यक्तिगत सुझावजस्तै ठान्ने गरेका छन्। समाधानका लागि आवश्यक कदम नचालेको अनुभव निजी क्षेत्रले गरेको छ,’ उनको गुनासो थियो।
उत्पादन, रोजगारी, सरकारको राजस्वका र कल्याणकारी कार्यसमेत निजी क्षेत्रले सफलतामा निर्भर रहने भएकाले सरकारले निजीक्षेत्रका सुझावलाई गम्भीर रुपमा लिन आवश्यक रहेको औँल्याए।
समग्र अर्थतन्त्र कठीन मोडमा आइपुगेको यो अवस्थामा अब सरकार र निजी क्षेत्र एउटै मञ्चमा उभिनु आवश्यक भएको उनको भनाइ थियो। यसकै लागि निजी क्षेत्रको तर्फबाट महासंघले असोज २५ गते बृहत राष्ट्रिय विमर्शको थालनी गर्न लागेको बताए।
‘अर्थतन्त्रका सबै सरोकारवालाहरु एक ठाउँमा आएर स्पष्ट रोडम्याप नबनाई संकटको समाधान हुँदैन,’ उनले भने, ‘ सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरुको सहभागितामा वृहत आर्थिक बहस संचालन गरी समाधानको रोडम्याप पहिल्याउने प्रयास नेपाल उद्योग वाणिज्य महासंघले थालेको छ। यसमा सबैको साथ र सहयोगको आवश्यकता छ।’


