नेपालको राजनीतिक रङ्गमञ्च गज्जबको छ। राजनीतिक दलहरू समयसमयमा आफ्नो पार्टीको चटकी प्रदर्शन गरिरहन्छन्, ‘हामी जनताका गुनासा सुन्न र पार्टी सुदृढीकरण गर्न यो अभियानमा छौँ’ भन्छन्। नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता यस रङ्गमञ्चमा माहिर मानिएका कलाकार हुन्। उनीहरू जस्तोसुकै भ्रम छरेरै भए पनि जनतालाई आफ्नो मुठ्ठीमा पारिरहन तल्लीन छन्। त्यही रङ्गमञ्चको एउटा भद्दा र असुहाउँदो प्रदर्शन हो- नेकपा माओवादी केन्द्रको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारासहित तीनमहिने विशेष रुपान्तरण अभियान।
भ्रम कतिसम्म उपयुक्त हुन्छ? सबैभन्दा ठूलो प्रश्न यही हो जसको जीवनमा पनि। आजको माओवादी अभियानमा यही प्रश्नको भूमिका मुख्य छ। २०५२ सालबाट सुरु भएको जनयुद्धमा (म माओवादीको सशस्त्र युद्धलाई जनयुद्ध नै भन्न रुचाउँछु। यस युद्धमा जनताको सपना थियो र युद्धको समापनपछि व्यवस्थापन नहुनु अर्को पाटो हो भन्ने मेरो बुझाइ छ।) जनताको साथ नभएको भए आजको उपलब्धि पक्कै हुने थिएन। आज जुनकुनै माध्यमबाट देशमा सङ्घीयता र गणतन्त्र आए पनि हिजोको माओवादीको माग त्यही थियो र उनीहरुले कहीँ न कहीँ आफूलाई सफल बनाएका हुन्। यति हुँदाहुँदै पनि आफूले के पाएँ र त्यसको साख कसरी जोगाउने भन्ने नजान्दा आजको माओवादीको हालत हुन्छ भन्ने कुरा मानिसहरुले आफ्नो सामान्य जीवनमा पनि सिक्नुपर्छ।
२०५२ सालदेखि जनताले दिएको सहयोग र २०६४ सालको पहिलो संविधान सभाको चुनावमा पाएको जनमत २०७० सालसम्म आइपुग्दा जोगाउन नसक्नु माओवादी बर्बादीको कारण हो। हिजो युद्धमा एक ढिक्का भएर लडेको पार्टी स्वार्थपूर्तिका लागि आज आफैमा टुक्राटुक्रा भएपछि विश्वास जनताले कहाँ, किन र कसरी भन्ने प्रश्न नै सबैभन्दा जटिल प्रश्न हो माओवादी केन्द्रलाई।
पहिलो कुरा गाउँमा जाँदा को भएको ठाउँमा जाने र कुन मुद्दा लिएर जाने भन्ने सबैभन्दा समस्या छ। गाउँमा न युवा बस्ने स्थिति छ, न त माओवादीले हिजो दिलाएको सपना कहीँकतै अङ्कुरित नै भएको छ। गणतन्त्र कसका लागि र किन आयो गाउँलाई आज पनि थाहा छैन। यस्तो अवस्थामा फेरि पनि गाउँमा जनतासँग माओवादी अभियानले सफलता पाउँछ भन्ने कुरामा कति विश्वस्त हुन सकिन्छ भन्ने कुरा नेतृत्वले बुझ्न जरुरी छ।
समय परिवर्तनशील छ। विज्ञानले फड्को मारेको छ। आज गाउँगाउँमा इन्टरनेटको सेवा पुगेको छ र घरै बसेर विश्वलाई नियाल्न सक्ने अवस्था भएको छ। हिजो २०५०/५२ सालतिरको जस्तो अन्धो समय छैन आज। तर पनि माओवादीले आफूले चलाएको अभियान फेरि जनताको धान मकै गोडिदिएर, गाईवस्तुलाई घाँस काटिदिन्छौँ, हामी श्रमदान गर्छौँ भनेर जनताले विश्वास गर्ने समय छैन।
नेपालीहरूको सपना त्यति ठूलो पनि भइसकेको छैन; आजै छिमेकी देश भारतले झैँ चन्द्रमामा रकेट पठाओस्। अब धान मकै गोडेर होइन, आधुनिक कृषिप्रणलीलाई गाउँगाउँ पुर्याएर हो परिवर्तन गर्ने, अब गाईवस्तुलाई धाँस काटिदिएर होइन पशुपालनबाट उत्पादन भएका सामग्रीहरूको व्यापार गर्ने बजारीकरणको व्यवस्थापन गरेर हो परिवर्तन गर्ने। जनताले के खोजेका छन् भन्ने कुरामा सचेत हुने बेलामा जनतालाई फेरि भ्रम छर्न गएर पार्टीको सुदृढीकरण अभियान सफल हुन्छ भन्नेमा ढुक्क हुनु आकाशबाट खानेकुरा झर्छ र खाउँला भनेर आकाशतिर आँ गरेर बस्नुसमान हो।
हिजो २०६२/६३ पछि पार्टीमा छिरेर भ्रमको राजनीति गर्ने कहाँ पुगे? तर युद्धकालदेखि नै आस्थाको राजनीति गर्नेको स्थिति के छ? यसको बारेमा पार्टी सचेत रहनु आवश्यक होइन र?
माओवादी केन्द्र सुध्रिनुपर्ने कहाँ हो भन्ने कुरा पार्टी नेतृत्वलाई थाहा छ कि छैन? कि सत्ताको अग्लो शिखरबाट भुइँमान्छेहरुलाई चिन्न छोडेको छ? प्रश्न यहाँनिर गम्भीर भएर आएको छ। नेपाली राजनीतिमा जनताको विश्वास जित्न केही गर्नुपर्दैन जनताले अपेक्षा गरेको थोरै काम गरे हुन्छ। सुरुवात भएको ललिता निवास र शरणार्थी प्रकरणलाई किनारा लगाउन सकेको खण्डमा यो तीनमहिने अभियान किन चाहिन्छ?
शिक्षा विधेयकले सम्पूर्ण शिक्षकहरु आन्दोलित भए, केही आश्वासन देखाएर थामपुर गरिएको छ। फेरि आन्दोलित हुने समय आउन नदिने हो र उनीहरुको माग सम्बोधन गर्ने हो। डाक्टरहरू अस्पतालमा कुटिएका छन्। यसले गर्दा डाक्टरहरू देशमा बसेका काम गर्ने वातावरण छैन। यसका लागि कहाँनिर कमजोरी भएको छ, त्यसको जड पत्ता लगाएर उचित सम्बोधन गर्ने हो।
देशबाट युवावर्ग किन पलायन हुँदै छन्? यसको दीर्घकालीन असर के हो र युवालाई विदेश जानबाट रोक्न करी सकिन्छ भन्ने कार्ययोजना तर्जुमा गरी प्रयोगमा ल्याउने हो। जसले गर्दा देशमा सरकार भएको अनुभूत जनतामा जाओस्। हिजो गाउँगाउँमा सिंहदरबार कति सुन्दर नाराको सिर्जना गरियो। भवन मात्र सिंहदरबार कि भवनबाट हुने सेवा पनि सिंहदरबार? आज पनि यो प्रश्न उस्तै जटिल भएर तेर्सिएको छ। जनताले आज गाउँगाउँमा गणतन्त्र आएको महसुस गर्न सके भने तीनमहिने अभियानको भ्रमित नाट्यशृङ्खला किन चाहिन्छ र?
केही भ्रष्टाचारको मुद्दामा अहिलेको सरकाले हात हाल्दै गर्दा जनताले विश्वास गर्ने शैलीमा कुनै पनि प्रकरण सफल भएको अनुभूति जनतालाई भएको छैन। आफ्नालाई चाहिँ जोगाउने भन्ने आरोप लागेकै छ। सुन प्रकरणका नाइके समातिएन भनिएको छ। जनताको अपेक्षाअनुसार लौ त नेतृत्वले आफ्नो भूमिका खेलोस् न, किन चाहिन्छ तीनमहिने अभियान?
साना माछाहरु मात्र समातिए भनेर भइरहेको विरोध प्रदर्शनमा कुनै पनि भ्रष्टाचारको काण्डलाई जरोसम्म खोतल्ने प्रयास गरेमा आज आफ्नो नेतृत्वको सरकार हुँदा त्यसभन्दा ठूलो सफलता के हुन्छ? यही कुरा हो पार्टीले सोच्नुपर्ने।
सुरुवात भएको ललिता निवास र शरणार्थी प्रकरणलाई किनारा लगाउन सकेको खण्डमा यो तीनमहिने अभियान किन चाहिन्छ?
पछिल्लो समय गाउँमा प्रायः बुढाबुढी मात्र बस्छन्। गाउँ कसरी नाङ्गिँदै छ र त्यसलाई रोकथाम कसरी गर्ने भन्ने दीर्घकालीन सोच अबको अभियानको एजेन्डा भयो भने मात्र यो अभियान सफल हुन्छ होइन र? आज गाउँमा जाँदै गर्दा पार्टी किन फुट्यो भन्दा दिने चित्तबुझ्दो जवाफ के छ माओवादीसँग? उनीहरुको स्वार्थले भन्ने? पार्टीको नेतृत्व कति समय भयो एकै जनाले गरेको? कुनै दिन वैकल्पिक नेतृत्वको परिकल्पना भएको छ पार्टीमा? नोट अफ डिसेन्ट लेख्दा लेख्नेलाई नै किन बलीको बोका बनाइन्छ? यो एउटा महत्वपूर्ण सवाल हैन र?
गाउँमा जाँदै गर्दा कमरेड प्रचण्डको नेतृत्वमा रहेको पार्टी पो जाला। बाबुराम भट्टराई, मोहन वैद्य, विप्लवलगायतका नेतालाई किन पार्टीमा राख्न सकेन भन्ने प्रश्नको उत्तर पनि दिन सक्ने तरिकाले जनतामा गएकै हो त नेकपा माओवादी केन्द्र? पार्टीलाई माया गर्ने कुनै मानिसले अभियन्तालाई यही प्रश्न सोध्यो भने के आउँछ जवाफ? अवाक् भएर फर्कनुको विकल्प केही छ? हिजो युद्धमा होमिएका कयौँ योद्धाहरू आज पनि गाउँमा सुरुकै अवस्थामा रहेको स्थितिमा छन्। आज उनीहरूको अवस्थालाई सम्बोधन भएको छ त?
अरू त छोडौँ, माओवादीले प्रथम सहिद भनेर चिनाएको दिलबहादुर रम्लेतको बुबाआमाको घर उही पुरानो झुपडी छ। गाउँमा आजसम्म पक्की सडक पुगेको छैन, वर्षायाममा गाडी चलाउन सकिन्न। यही हो त सहिदप्रति गरेको सम्मान? हिजो २०६२/६३ पछि पार्टीमा छिरेर भ्रमको राजनीति गर्ने कहाँ पुगे? तर युद्धकालदेखि नै आस्थाको राजनीति गर्नेको स्थिति के छ? यसको बारेमा पार्टी सचेत रहनु आवश्यक होइन र?
पार्टीमा सुदृढीकरण अभियान चाहिन्छ। सरकारमा भएको बेलामा आफूले गर्ने सक्ने काममा सफलताका साथ काम गरौँ र जनतासम्म जाँदा स्पष्ट यो काम गरेका छौँ है भन्ने देखियोस्? जनतालाई हिजो युद्धकालमा देखाइएको सपना सम्बोधन हुने तरिकाले काम गर्न सकेको खण्डमा मात्र अभियानले सार्थकता पाउला। होइन भने त कुरी कुरी माकुरी हुने हैन र?
यतिबेला माओवादीको अभियान चलेको हुनाले माओवादीकै अभियानको अलिक चर्चा गरियो। अभियान जुनकुनै पार्टीको होस्। जनतासम्म जानका लागि पहिला जनतालाई दिने उत्तर हुन आवश्यक छ। जनताले पार्टीले के गरेको छ भन्दै गर्दा गरेका कामको चित्तबुझ्दो सूची सम्भवतः कुनै पार्टीमा पनि छैन। देशले के चाहेको छ? आजको विश्व कुन दिशामा हिँडेको छ र आफ्नो देशलाई कुन बाटोमा हिँडाउनुपर्छ भन्ने चेतनाको स्तर कुनै पनि पार्टीमा अपेक्षाकृत रूपमा रहेको छैन भन्ने अनुभूति सम्पूर्ण जनतामा रहेको छ।
यसैले जुनकुनै पार्टी होस्, आफ्नो अभियानमा जाँदा सुध्रिन्छु भनेर होइन, सुध्रिएर जाने आँट गर्नुपर्छ। होइन भने जनताले उल्टो लखेट्नेमा दुईमत छैन। आजका नागरिक न बीपी कोइरालाका पालाका हुन्, न राजाहरूको पालाका। नागरिकको चेतनाको स्तर बढिसकेको बेला सुध्रिन्छु भनेर होइन, सुध्रिएर जाने हो अभियान लिएर।
-बारपाक सुलिकोट ८, गोरखा


