काठमाडौँ- नेपाली युवाका लागि जर्मनीमा रोजगारीको ढोका खुल्ने भएको छ। श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलको जर्मनी भ्रमणका अवसरमा नेपाली श्रमिकलाई जर्मनी पठाउनेसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको हो।
नेपालबाट दक्ष श्रमिक पठाउने विषयमा मंगलबार नेपाल र जर्मनीबीच आशयपत्रमा हस्ताक्षर भएको बर्लिनस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।
आशयपत्रमा नेपालका तर्फबाट बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का र जर्मनीका तर्फबाट संघीय रोजगार एजेन्सीका अन्तर्राष्ट्रिय मामिला निर्देशक माइकल भान डेर कमनले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर भएको कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपमन्त्री लियोन ग्रेब्सको उपस्थित थिए।
आशयपत्रमा हस्ताक्षर भएसँगै नेपालबाट वैधानिक रुपमा श्रमिक पठाउने विषयमा महत्वपूर्ण कार्यको सुरुवात भएको श्रममन्त्री भण्डारीले बताए।
यद्यपि नेपाली श्रमिकले कहिले जर्मनीको रोजगारी बजारमा जान पाउँछन् भन्ने निर्क्योल भएको छैन। दक्ष आप्रवासी श्रमिक, जर्मन भाषा तथा आवधिक तालिमका विषयमा थप छलफल गरी ढुंगोमा पुग्न दुवै पक्ष सहमत भएका छन्।
जर्मनीकी उपमन्त्री ग्रेब्सले नेपालबाट दक्ष श्रमिक जर्मन श्रमबजारमा आपूर्ति गर्ने विषयमा महत्वपूर्ण सुरुवात भएको बताइन्।
