काठमाडौं- दसैंको मुखमा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । चाडपर्वको मुखैमा प्राधिकरणले १० दिनसम्म काठमाडौंस्थित सामासुखी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
प्राधिकरणले असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म लैनचौरस्थित ६६/११ केभीको सवस्टेशन स्तरोन्नती गर्ने भन्दै विद्युत् कटौती गर्न लागेको हो । पानीपोखरी क्षेत्रमा विद्युत् आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटारक्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुनेछ ।
प्राधिकरणले सुचनामार्फत १० दिन विद्युत् अवरुद्ध हुने बताए पनि दिनको कति बेला र कुन समय विद्युत् आपूर्ति अवरुद्ध हुने नखुलाउँदो उपभोक्तालाई थप हैरानी हुने देखिएको छ ।
सहरका मुख्य क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा आम ग्राहकलाई प्रत्यक्ष असुविधा हुने देखिएको छ । यसबारेमा बुझ्न खोजे पनि प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भट्टराइको फोन अफ छ ।

