काठमाडौं- प्रस्तावित कमला–ढल्केबर–पथलैया सडकखण्ड विस्तारका लागि सरकारले विश्व बैंकसँग ऋण सहयोग लिने भएको छ।
कुल १२० किलोमिटर सडक खण्ड विस्तारका लागि आवश्यक पर्ने लगानी रकम विश्व बैंकबाट ऋणका रुपमा लिने भएको हो। हाल २ लेनमा सञ्चालित उक्त सडकखण्ड ४ लेनमा विस्तार गर्ने सरकारको योजना छ।
अहिले उक्त सडक खण्ड विस्तारका लागि सर्भे, डिजाइन र पूर्वतयारीका काम धमाधम अघि बढेको सडक विभागले जनाएको छ। सडकखण्ड विस्तारका लागि इटालियन कम्पनी इप्टिसाले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अध्ययन गरिरहेको छ।
सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने ठूलो लगानी विश्व बैंकबाट ऋण सहयोग लिइने र केही नेपाल सरकारको स्रोतबाट जुटाइने सडक विभागअन्र्तगत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक डा. विजय जैसीले बताए।
दुई लेनको उक्त सडकलाई ४ लेनमा विस्तार गर्ने योजनाबमोजिम अहिले अध्ययन, डिजाइन र पूर्वतयारीका काम अघि बढाइएको उनले जानकारी दिए।
आगामी एक वर्षभित्र डीपीआर निर्माण र पूर्वतयारीका काम सकेर सडक विस्तारको काम सुरु गर्ने लक्ष्य रहेको जैसीले बताए।
‘अहिले सर्भे, डिजाइन र पूर्व तयारीका काम अघि बढाइरहेका छौंँ। कम्तीमा एक वर्षभित्र सम्पूर्ण अध्ययन सकेर ठेक्का व्यवस्थापन गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘यसमा विश्व बैंकको ऋण सहयोग रहनेछ।’
बजेटको स्रोत सुनिश्चितता र डीपीआर निर्माण भएमा एक वर्षभित्र नै उक्त सडक आयोजना ठेक्का प्रक्रियामा लैजाने तयारी छ। सडक चक्ल्याउने, जाली हाल्ने, पर्खाल निर्माणलगायतका काम यतिबेला भइरहेको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त सडक विस्तार गर्न विश्व बैंक र नेपाल सरकारको प्रत्यक्ष लगानी रहनेछ।
४ लेनमा विस्तार हुने सडकमा सर्भिस लेन, अण्डर पास र ओभर पास निर्माणलगायतका संरचना बनाइने छ। सडकसँगै पुल निर्माणका लागिसमेत डिजाइन भइरहेको छ। झन्डै ७५ वटा पुल सो सडकखण्डमा निर्माण हुनेछन्।
बागमती, बकैया र कमला खोलामा गरी तीन स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने प्रारम्भिक अध्ययनले देखाएको छ।
कुल ६५ अर्ब लागत लाग्ने अनुमान गरिएको आयोजनामा ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
