काठमाडौँ- नेपाल नागरिक उड्डय प्राधिकरण -क्यान_ ले मनाङ एअरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने भएको छ।
छोटो समयको अवधिमा उक्त एअरले हवाई सुरक्षा नियम उलंघन गरेको पाइएकाले निजको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने तयारी गरेको प्राधिकरणका प्रवक्ता तथा उप–महानिर्देशक जगन्नाथ निरौलाले बताए।
उनले भने, ‘छोटो समयको अवधीमा उक्त एअरले हवाई सुरक्षामा गम्भीर उलंघन गरेको पाइयो, सम्भवतः आजै निजको एओसी निलम्बन गर्छौँ।’
मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा आज बिहान दुर्घटनामा परेको छ। हिजो ओखलढुंगाको रुम्जाटारमा रहेको उक्त एअर शनिबार बिहान रुम्जारबाटबाट पर्यटन लिनका लागि लुक्ला गएको थियो।
लुक्लाबाट आज बिहान ७ः१३ मिनेटमा लोबुचे उडेको ‘एन–एएनजे’ कलसाइन भएको हेलिकप्टर खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेँडाइ घाइते भएका छन्।
उनको अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
हेलिकप्टर के कारणले दुर्घटना भयो सोबारे थप अनुसन्धानपछि मात्रै विवरण थाहा हुने प्राधिकरणले जनाएको छ।


