काठमाडौं- काठमाडौं उपत्यकामा आज मंगलबारदेखि खसीबोका र भेडाच्याङ्ग्राको बिक्री सुरु भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजीक्षेत्रका व्यापारीले मंगलबारदेखि नै बसीबोकाको बिक्री वितरण सुरु गरिसकेका छन्।
खाद्य कम्पनीले थापाथलीबाट खसीबोका तथा भेडाच्याङ्ग्राको बिक्री वितरण गरेको छ भने निजी व्यापारीहरुले विभिन्न खसीबजारबाट बिक्री गरिरहेका छन्। यसपालि विगतका वर्षहरूमा भन्दा बढी मासु खपत हुने अनुमान गरिएको छ।
आम उपभोक्तालाई बाहिरको बजारको भन्दा केही सुलभ र छुटका साथ सरकारी कम्पनीले खसीबोका बिक्री गरिरहेको छ। हरेक वर्ष खाद्य कम्पनीले दशैं सुरु हुने बित्तिकै खसीबोकाको बिक्री गर्ने गरेको थियो।
यसपालिको दसैंका लागि पनि कम्पनीले २ हजार खसीबोका र १ हजार भेडाच्याङ्ग्राकाको बिक्री सुरु गरिसकेको छ। जसअनुसार, जिउँदो खसीबोको प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ कायम गरेको छ। कम्पनीले बाहिरको मूल्यभन्दा जिउँदो खसीबोका र च्याङ्गमा १० रुपैयाँ छुट दिएको जनाएको छ। यसवर्ष ढुवानी भाडा र लागत केही बढी भएकाले पनि मूल्यवृद्धि नगरिएको कम्पनीले जनाएको छ।
कम्पनीले हेटौँडा र तुलसीपुर दाङबाट खसी बोका खरिद गरेर ल्याइसकेको छ। खाद्यले खसी बोका खरिद गर्दा भेटनरी डाक्टरको रोहवरमा खरिद गर्छ। खाद्यमा आइपछि डाक्टरले चेकजाँच गर्छन। अस्वस्थ खसी बोका भए बिक्री वितरण गर्दैनौं। हेटौडा र दाङबाट ल्याएका खसीबोकाको रङ फरक लगाएको कम्पनीले जनाएको छ।
विगतमा सहकारीमार्फत धादिङबाट ल्याएको थियो। तर यो वर्ष मूल्य अधिक भएपछि धादिङबाट ल्याउने सम्भावना कम भएर दाङबाट ल्याउनुपरेको कम्पनीले बताएको छ।
यता, निजी व्यापारीहरुले पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँ र खसीबजारबाट खसीबोका बिक्री गर्न थालेका छन्। व्यापारीहरुले विभिन्न जिल्लमा पुगेर खसीबोका खरिद गरि दसैंका लागि बिक्री गर्न काठमाडौं उपत्यकामा भित्र्याइसकेका छन्। काठमाडौंको ठूलो कलंकी खसीबजारबाट ठूलो मात्रामा निजी व्यापारीहरुले खसीबोका बिक्री वितरण गर्दै आएका छन् भने अन्य विभिन्न खसीबजारबाट पनि बिक्री वितरण हुँदै आएको छ।
कसरी चिन्ने खानलायक खसीबोका?
खसीबजार र अन्य ठाउँमा बिक्रीका लागि ल्याइएका खसीबोका सबै खानयोग्य हुँदैनन्। अर्थात्, निरोगी र स्वस्थ खसीबोका मात्र मानव स्वास्थ्यका हिसावले पनि उपयुक्त मानिन्छ। त्यसकारण, दसैंमा खसीबोका किन्दा ख्याल गर्नुपर्ने मूख्य कुरा कुन खसी किन्ने भन्ने नै हो।
खासगरी, निरोगी र स्वस्थकर खसीबोका कसरी छुट्याउने भन्ने दुविधा हुन सक्छ। तपाइले खसीबोका किन्दै हुनुहुन्छ भने शुद्ध र स्वस्थ्य मासुका लागि हरियो चिहृन भएका खसीबोका मात्र खरिद गर्न सरकारले आग्रह गरेको छ।
पशु सेवा विभागले पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थ्यलाई ‘रातो’ चिह्न लगाउने अभियान सुरु गरिसकेको छ उपत्यकाका विभिन्न ११ स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण सुरु भएको विभागले जनाएको छ।
कलंकी खसीबजार, बल्खु कालीमाटी माछाबजार, चोभार नाका, चाल्नाखेल, रांगाबजार, टुकुचा खसीबजार र खाद्य संस्थान, लोकन्थली खसीबजार, सल्लाघारी च्यांग्राबजार, बालाजु वाइपास नाका, लगनखेल, धापाखेल अकाशे धारा र सुकेधारा र चन्द्रागिरि दाउरा डिपो, दहचोक मूलपानी चौर खसी बजारस्थित होल्डिङ तथा संकलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको पशु सेवा विभागले जनाएको छ।
परीक्षणका पाँचदेखि सातजनाको टोली परिचालन गरिएको विभागले जनाएको छ। बजारमा आएका खसीबोकाको स्वास्थ्य आगामी कात्तिक ६ गतेसम्म परीक्षण गर्नेछ। पशु चिकित्सकले दशैँमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमुनाको आधारमा अध्ययन गरेर स्वस्थ्य ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिहृन लगाउने व्यवस्था गरिएको छ।
टोलीले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिंगान र स्याल बगेको, मलद्वारबाट पातलो दिसा भएर शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन्छिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुइँ कोट्टयाउने, घरीघरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण पहिचान गर्नेछन्।
निमोनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पीपीआर, क्षयरोग, रेविज र घुमाउने रोग लागेका खसीबोकाको सिङमा रातो चिहृन लगाएर विशेष निगरानीमा राखेर उपचार गरिनेछ। तर खोरेत, पीपीआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोका भने बिक्री गर्न पाइने छैन। पशु चिकित्सकका अनुसार कडा ज्वरो, पीपीआर, रेबिज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसीबोकाको मासु मानव स्वास्थ्यका लागि धातक मानिन्छ।


