काठमाडौँ– सरकारले एनसेलको सेयर खरिद बिक्रीका विषयमा छानबिन गर्न समिति बनाएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार समितिको संयोजकमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा छन्। फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य रसुजनकुमार काफ्ले समितिका सदस्य छन्। समितिलाई यो प्रकरणको अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको छ।
आजियाटाको नाममा एनसेलमा रहेको ८० प्रतिशत सेयर नेपाली मूलका व्यवसायी सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडले ६ अर्बमा किन्ने सम्झौता गरेको थियो। यसमा चलखेल भएको हुन सक्ने भन्दै आलोचना भएपछि छानबिन गर्न सरकारले समिति गठन गरेको हो।
सरकारलाई कुनै जानकारी नै नदिई यति ठूलो कारोबार हुन लागेको भन्दै सरकारी संयन्त्रले शंका व्यक्त गरिरहेका छन्।
यस्तै मन्त्रिपरिषद् बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभुषण शर्मालाई नियुक्त गर्नेसमेत निर्णय गरेको छ।
विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय भएको ती मन्त्रीले जानकारी दिए।
