काठमाडौँ- सङ्घीय संसद् सचिवालयमा कार्यरत शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरेको आरोप लागेका उपसचिव रामप्रसाद गैरेले स्पष्टीकरण पेस गरेका छन्।
सहकर्मीसमेत रहेकी शाखा अधिकृतले आफूमाथि गैरेबाट दुर्व्यवहार भएको र झापडसमेत प्रहार गरेको भन्दै उजुरी संसद सचिवालयमा दर्ता गराएपछि उनलाई स्पष्टीकरण सोधिएकोमा उनले पेस पनि गरेको संसद सचिवालयले जानकारी दिएको हो।
मङ्सिरमा संसद् सचिवालयले प्रकाशन गरेको एक प्रतिवेदनमा आफ्नो नाम छुटाएको झोँकमा अधिकृतलाई झापड हानेका थिए। स्पष्टीकरणमा उनले आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्।
उनीमाथि विभागीय कारबाही गर्ने तयारी रहेको कर्मचारी प्रशासन महाशाखा प्रमुख डा रोजनाथ पाण्डेले बताए। सङ्घीय संसद् सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार २ वर्षसम्म बढुवा रोक्का वा ५ ग्रेड तलब वृद्धि रोक्कामध्ये कुनै कारबाही गर्ने तयारी सचिवालयको छ। झापड हान्ने गैरेलाई कारबाहीको भागीदार किन नहुने भन्दै अर्को पत्र काटिएको छ।
मंसिर २१ गते उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरेका थिए। उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्?’ भन्दै अधिकृत तण्डुकारमाथि झापड हानेका थिए।
घटनापछि अधिकृत तण्डुकारको स्वास्थ्य परीक्षण गरिएको थियो। मेडिकल रिपोर्टमा उनीमाथि हातपात भएको देखिएको उल्लेख छ। आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराएकी थिइन्।
पछि उनले सचिवालयमा उजुरी दिएकी थिइन्।
