काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा जाने भन्दै आएका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले पनि अध्यक्षका आकांक्षी करण चौधरीलाई नै समर्थन गर्ने भएका छन्।
अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका आकाश गोल्छा र प्रकाश कपुरीले करणलाई अध्यक्षमा समर्थन गर्ने समहमति गरेसँगै डल्लाकोटी पनि चौधरीलाई नै समर्थन गर्ने निर्णयमा पुगेका हुन्।
सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो। उक्त सहमतिविरुद्ध नाडाका पूर्व उपाध्यक्षसमेत रहेका डल्लाकोटीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
यसपछि फेरि चुनावी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। डल्लाकोटीको घोषणा पछि नाडाको अध्यक्ष बन्न चौधरीलाई चुनौती खडा भएको थियो।
नाडाका नेतृत्व अहिलेको समयमा चुनावी पक्रिया भन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारणानुरुप चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गर्ने निष्कर्षमा पुगेको डल्लाकोटीको भनाइ छ।
डल्लाकोटीको पनि समर्थन पाउने भएसँगै चौधरीलाई नाडाको अध्यक्ष बन्न सहज हुने भएको छ। चौधरीलाई सर्वसम्मत अध्यक्ष बनाउने नाडामा अभ्यास भइरहेको छ।
डल्लाकोटीलाई मनाउन अध्यक्ष, निवर्तमान अध्यक्ष तथा कार्यसमितिका सदस्यहरूले सक्रिय भूमिका खेलेका थिए।
यसअघि चौधरी हालका अध्यक्ष ध्रुव थापासँग हारेका थिए। नाडाको ४७औँ वार्षिक साधारणसभा पुस २० र २१ गते हुने तय भएको छ।


