काठमाडौँ– उच्च अदालत पाटनले एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न अन्तरिम आदेश जारी गरेको छ। पाटन उच्च अदालतले यसअघि नै सेयर दर्ता नगराउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको हो।
सोमबार उच्च अदालतका न्यायाधीशहरू शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउन अन्तरिम आदेश जारी गरेको हो। मंसिर २१ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
‘नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट प्रस्तुत भएको लिखित जवाफ र सो जवाफसाथ संलग्न कागजातहरू एवं सर्वोच्च अदालतबाट डा द्वारिकानाथ ढुंगेलसमेत विरूद्ध ठूला करदाता कार्यालय, ललितपुर समेत भएको रिटमा भएको व्याख्या समेतका आधारमा माथि उल्लेखित स्वामित्व परिवर्तनसम्बन्धी विषयमा प्रथम दृष्टिमा नै विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट २०८०/०८/२१ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ,’ आदेशमा भनिएको छ।
मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।
गोकुलबहादुर रोकायाले सेयर खरिदबिक्रीको कारोबारविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए।


