काठमाडौँ- नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन्। कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
पोखरा र आसपास गरी यहाँ ठूला–साना गरी लगभग १ हजार २ सय होटल सञ्चालनमा छन्। नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उनले बताए।
‘नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत भरिएका छन्,’ उनले भने, ‘लेकसाइड मात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ।’
नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए।
नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन्।
