काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठकले सदनमा प्रमुख प्रतिपक्ष दलको भूमिका रचनात्मक तवरले निर्वाह गर्ने निर्णय गरेको छ।
बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस उनीप्रति असन्तुष्ट छ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोपसमेत लगाएको छ।
प्रमुख सचेतक लेखकले माओवादी अध्यक्षसमेत रहेका दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन्।
‘गठबन्धन बन्दाका सम्पूर्ण सहमतिहरूलाई हामीले इमान्दारितापूर्वक र प्रतिबद्धतापूर्वक पालना गरिरहेका थियौँ। गठबन्धनको संस्कार, संस्कृति मूल्य र मान्यताअनुरुप नै अघि बढिरहेका थियौँ,’ उनले भने, ‘तर प्रचण्डले अविश्वसनीय तरिकाले गठबन्धन भत्काउने काम गर्नुभयो। त्यो राजनीतिक बेइमानी हो।’
प्रमुख सचेतक लेखकले कांग्रेस संसद्को ठूलो पार्टी भएकाले विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिए।
कांग्रेस अहिले समीकरण बदल्नभन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिकामा देखिने उनको भनाइ छ।








बिहीबार दुवै सदनको बैठक बस्दैछ।


