नेपाली समाजले उन्नति, प्रगति र सुखशान्ति र भौतिक समृद्धिको बाटो समातोस् भन्ने जनताको मुख्य चाहना थियो। तर २०४६ र २०६२/०६३ को राजनीतिक परिवर्तनपछि नेपाली राजनीतिले जुन बाटो समात्नुपर्थ्यो, त्यो लय पक्रन सकेन। यस बीचमा राजनीतिक दलहरुबाट धेरै भुल भएका छन्। राजनीतिक परिवर्तनसँग जनताका भावना जोडिएका थिए।तर राजनीतिले त्यतातर्फ पाइला नै मोडेन।
२०४६ पछि नै जनतामा देखिन थालेको चाहना पूर्ण सम्बोधन गरेर अघि बढ्न सकेको भए ०६२/०६३ को आन्दोलन गर्नुपर्ने थिएन। त्यसमा मूलतः २ वटा कारण दोषी छन्। पहिलो- राजनीतिक दलहरुभित्रको अन्तरकलह। दोस्रो- दलदलबीचको सम्बन्ध।
दलको आन्तरिक जीवन कलहपूर्ण देखियो। ०४७ मा पनि दलभित्र कलह थियो। ०४८ पछि त त्यो सतहमै प्रकट भयो। त्यसले नेपाली राजनीतिलाई नराम्ररी प्रभाव पार्यो। सत्तारुढ दल र विपक्षी दलबीचको सम्बन्ध राम्रो भएन।
अन्तरकलहकै परिणामस्वरुप मध्यावधि निर्वाचन भयो। त्यो त्रुटी थियो। मध्यावधिले दिएको परिणामले नेपाली राजनीतिमा अनगिन्ती विकृति पैदा गरिदियो। सांसद् खरिदबिक्री, पेजेरो संस्कृतिलगायतका विकृतिले राजनीति झेलियो। त्यस्ता विकृतिको चर्चा गरिसाध्य छैन।
२०४७ को संविधान जारी भएपछि कुनै पनि दलको प्रष्ट बहुमत नभएको (हङ् पार्लियामेन्ट)ले कार्यकाल पूरा गर्दासम्म त नेपालको लोकतन्त्र विकृत भइसकेको थियो। त्यो बेलामा हामीले नेताहरुलाई यसरी चल्ने हो भने प्रजातन्त्र दुर्घटनामा पर्छ भनेर विद्यार्थी नेताका रुपमा हामीले उठाएका थियौं। त्यो कालखण्ड विकृतिको चरमोत्कर्ष थियो। त्यसले प्रजातन्त्र भनेको यस्तै हो त? भनेर प्रश्न चिन्ह धेरै उब्जायो। त्यसमा हामी दोषी छौं।
०६२/०६३ को जनआन्दोलनपछि हामी लोकतन्त्र र गणतन्त्रको बाटोमा अघि बढ्यौं। तर बारम्बार अवसर पाउँदा पनि चुकेका छौं। त्यसकारण पार्टीहरुले आत्मसमीक्षा, आत्मस्वीकारोक्ति र सुधारको प्रतिबद्धता गर्न जरुरी छ।
सुधारको प्रतिबद्धता जनताले देख्ने, सुन्ने र थाहा पाउने गरी गर्नुपर्छ। राजनीतिक दलहरुका लागि यो अन्तिम मौका हो। निर्वाचनपछि सरकार बन्ने क्रममै मैले यो कुरा भनेको छु। मैले भनेर नेताहरुको कानमा बतास लागेको देखिएन। त्यसकारण मैले देशव्यापी रुपमा अन्तरक्रियात्मक कार्यक्रम लिएर जाने योजना बनाएको हुँ।
०६२/०६३ को जनआन्दोलनपछि हामी लोकतन्त्र र गणतन्त्रको बाटोमा अघि बढ्यौं। तर बारम्बार अवसर पाउँदा पनि चुकेका छौं। त्यसकारण पार्टीहरुले आत्मसमीक्षा, आत्मस्वीकारोक्ति र सुधारको प्रतिबद्धता गर्न जरुरी छ।
मेची-महाकाली यात्रामा विभिन्न दलका साथीहरुसँग भेट्नेछु। आफ्नो पार्टी नेपाली कांग्रेसका साथीहरु सँगसँगै यो पछिल्लो कालमा उदाएका सबै साथीहरुसँग भेट्न र छलफल गर्ने यसको उद्देश्य हो। यसलाई मेची-महकाली यात्रा भने पनि हुन्छ। राजनीतिक दललाई दबाब पुगोस् भन्ने हेतुले यो अभियान सुरु गर्न लागिएको हो। यसमा नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिकर्मी र बुद्धिजीवीलाई समावेश गराएर अन्तरक्रिया गर्ने हो। यिनै सेक्टरले नेपाली राजनीतिलाई गम्भिर रुपमा हेरिरहेका छन्।
देशको विकासका परिप्रेक्ष्यमा विश्वका अन्य मूलुकको दृष्टान्त हेर्यौं भने मूलतः तीनवटा क्षेत्रमा निर्भर छ। राजनीति, कर्मचारीतन्त्र र निजी क्षेत्रको एकताबद्ध प्रयास नभई देश बन्न गाह्रो हुने रहेछ। दुनियाँका अन्य मुलुकले गरेको प्रगति हेर्दा त्यही देखिन्छ। जापानले त्यही सूत्र अपनाएको देखिन्छ।
‘आइरन ट्र्यांगल‘ शीर्षकको लेखमा मैले यसबारे चर्चा गरेको छु। यो आइरन ट्र्यांगल भनेको राजनीति, कर्मचारीतन्त्र र निजी क्षेत्र हो। कोरियाले पनि यसैलाई अनुशरण गरेको देखिन्छ। त्यसकारण चनाखो भएर, पहरेदारी गरेर, राजनीतिकदहरुलाई झकझकाउन आवश्यक देखियो। यहाँ निजी क्षेत्र आफ्नै उन्नति र उपलब्धिका लागि क्रियाशील छ। कर्मचारीतन्त्र आफ्नै ढंगले हिँड्छ। राजनीतिले गम्भीरता नदेखाउने स्थिति छ।
पाँच वर्षको आवधिक चुनाव, सरकार गठन, प्रतिपक्षी दलको भूमिका, राजनीतिक नियुक्ति र फेरी चुनाव; हाम्रो जिम्मेवारी र कार्यसूची यति मात्रै हो त? यसरी नै बितिसक्यो ३५ वर्ष, देश निर्माणका लागि २०/२५ वर्ष काफी छ। तर हामीले ३५ वर्षसम्म के गर्यौं त? अहिले पनि नेपाल संसारको गरिब मुलुक हो। यो अवधिमा संसारका गरिब भनिएका मुलुहरुले आफ्नो हैसियत कहाँ पुर्याइसके भनेर जान्न मन लागे जापान, सिंगापुर, थाइल्यान्ड हेरे पुग्छ।
पुराना पार्टी सुध्रिएनन् भने बाँच्दैनन्। पुराना पार्टीको पदचिन्हमा नयाँ पार्टी पनि हिँड्न थाले भने प्रणाली बाँच्दैन।
सन् १९४५ मा हिरोसिमा र नागासाकीमा एटम बम विस्फोट गराइयो। करिब एक दशकमै ऊ पुरानै अवस्थामा फर्कियो। १९६८ मा पुग्दानपुग्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापान बन्यो।
कोरियाको प्रगति हुन पनि १८-२० वर्ष मात्रै लाग्यो। सन् १९५५ मा नेपालले खाद्यान्न पठाएको मुलुक हो दक्षिण कोरिया। पाक चुङ हुईले प्रथम पञ्चवर्षीय योजना सन् १९६२ मा सुरु गर्दा हाम्रो प्रतिव्यक्ति आय ८७ डलर थियो। त्यो बेलामा नेपाल कोरियाभन्दा धनी थियो। दक्षिण कोरिया भन्दा उत्तर कोरिया बढी विकसित थियो। ठूलाठूला शहर र घर उत्तर कोरियामा थिए।
सन् १९४५ मा जापानको अधीनबाट मुक्त भएको कोरिया सन् १९४८ मा विभाजन भयो। १९५० देखि १९५३ सम्म लडाइँ भयो। १९५५ मा अनिकाल लागेर नेपालले खाद्यान्न पठाएको रहेछ। उसले अपनाएको विकासको मोडल हाम्रा लागि अनुकरणीय हुन सक्छ। कोरियाको राष्ट्रिय राजमार्ग (सोलदेखि बुसानसम्म ४०० किलोमिटरभन्दा बढी) डेढ वर्षमा बनेको थियो। त्यो राजमार्ग अन्तर्राष्ट्रिय दातृ निकायले ऋण दिएका थिएनन्। राष्ट्रिय बजेटको ६० प्रतिशत त्यो राजमार्ग बनाउन खर्च गरिएको थियो।
कोरियाले २० हजार स्टाफ नर्स जर्मनी पठाएको थियो। ती नर्सले पठाएको पैसा सरकारले ऋणमा लियो र त्यो पैसा राजमार्ग निर्माणमा लगायो। सन् १९७० को दशकमा कोरियाका मान्छे अफ्रिका, जर्मनीलगायतका मुलुकका कोइला खानीमा काम गर्न जान्थे। उनीहरुले तलब पनि अरुको तुलनामा कम पाउँथे। संसारबाट हेपिएका थिए। त्यो बेलामा कोरियामा स-सना टेक्सटाइल कम्पनी थिए।
राजनीतिक दलका नेता-कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज र संचारकर्मीसँग छलफल गर्नुपर्ने आवश्कयता छ।
सन् १९८० को दशकमा उसँग स्टिल कम्पनी, अटोमोबाइल कम्पनी, इलोक्ट्रोनिक कम्पनी, पानीजहाज कम्पनी भए। उसले संसारभर सामान निर्यात गर्न थाल्यो। निर्यातजन्य उद्योगलाई प्राथमिकता दियो। विकासको प्राथमिकता तय गर्यो। औद्योगिकीकरण र कृषिको आधुनिकिकरण गर्यो। त्यसपछि रोजगारीको अवसर सिर्जना भए। त्यहाँका निजी कम्पनीलाई राष्ट्र ग्यारेन्टी बसेर संसारभर काम गर्न पठायो।
कोरियाले पैसा एकैठाउँ लगाउने नीति अपनायो। पैसा नछर्ने नीति लियो। हामी पैसा छर्छौं। त्यसले दिगो विकास हुँदैन। कुन क्षेत्रलाई विकास गर्ने भन्ने विषयले पनि महत्व पाउँदैन। त्यसकारण देश विकासको बाटोमा छैन। हामीले चाँडो उन्नति गर्नै सक्दैनौं। यसरी हेर्दा हामीले प्रजातन्त्र प्राप्तीपछिको अवधिलाई उपयोग गर्नै सकेनौं। मलेसियामा मोहम्मद महाथिरले र सिंगापुरमा ली क्वान यूले जसरी विकासमा केन्द्रित गरे, हामी त्यतातर्फ सोच्न दिमाग नै लगाएनौं।
चीनले न परम्परगत समाजवादी बाटो, न पुँजिवादी बाटो समात्यो। उसले आफ्नै मोडल तयार गर्यो। १९७६ मा माओत्से तुङको निधन हुँदासम्म चीन संसारको दोस्रो गरिब मुलुक थियो। जनसंख्या बढी र चरम गरिबीको अवस्था थियो। उपप्रधानमन्त्री र सैन्य कमिसनका अध्यक्ष देङ सियाओपिङले त्यसलाई सम्हालेर अघि बढे। तर हाम्रो बिडम्बना हामी आफ्नै मोडल पनि विकास गर्न नसक्ने र अरुबाट पनि नसिक्ने अवस्थामा छौं।
हामीले २०४७ पछिका झन्डै ३५ वर्ष खेर फाल्यौं। र आउने पुस्ताको जीवन पनि त्यतिकै खेर जाने भयो। हामी मझधारमा छौं। पुराना पुस्ताले यसलाई प्राथमिकता दिएन। आउने पुस्ताको जीवन पनि यसै खेर जाने देखियो। पुरानो पुस्ता राजनीतिक क्रान्तिको बाहक भयो। तर समृद्धिको बाहक बन्न सकेन। अबको समय खेर जान दिन हुँदैन।
हामीले रोजगारी सिर्जना गर्न सकेनौं। आज वार्षिक रुपमा लाखौं युवाहरु यो देशमा भविष्य नभएको ठहरसहित पढ्ने नाममा होस् वा काम गर्ने नाममा बिदेसिएका छन्। जुन देशको युवा शक्ति काम गर्ने उमेरमा देशमा बस्दैन त्यो देशको प्रगति सम्भव नै छैन। यस्तो पिडादायी अवस्थाबाट मुलुक गुज्रिरहेको छ। यस्तो बेलामा यान्त्रिक रुपबाट सरकारमा कसलाई पठाउने, पाँच वर्षमा आउने निर्वाचनमा गठबन्धन गर्ने काममा हामी व्यस्त छौं।
अहिले एकथरी सत्तामै मग्न छन्, एकथरी सत्तामा जाने दिन गनेर बसेका छन्। यो भन्दा हाम्रो चासो र प्राथमिकता केमा छ? केहीमा पनि छैन। अन्तस्करण खुलेर तिमीहरु ‘यो बाटो हिँड्दैछौ, यो बाटो हिँड’ भनेर कसैले त भनिदिन पर्यो!
अब त दलीय प्रतिस्पर्धा पनि हुन छाडिसक्यो। अब विचार मिल्ने होस् वा नहोस् चुनावमा स्वार्थ मिल्यो भने गठबन्धन भइहाल्छ। यसले लोकतन्त्रको हुर्मत लिएको छ। लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ। निर्वाचनपछि सरकार बनाउन गठबन्धन गर्नु भनेको अनौठो कुरा होइन। तर निर्वाचनअघि नै सत्तामा जानका निम्ति गठबन्धन गर्ने कुराले लोकतन्त्र बलियो बनाउँदैन।
यीलगायतका विषयमा राजनीतिक दलका नेता-कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज र संचारकर्मीसँग छलफल गर्नुपर्ने आवश्कयता छ। यसकै लागि अभियान सुरु गर्न लागिएको हो। वैशाख ११ गते गण्डकी प्रदेशबाट अभियान सुरु हुँदैछ। यो क्रमिक रुपमा ठूलादेखि साना सहरसम्म पुग्नेछ। देशका ७७ वटै जिल्लामा अभियान लैजाने तयारी छ। यो अभियानमा साथीहरु जोडिने क्रम जारी छ।
छलफलमा सबै दलका मान्छे सहभागी हुनेछन्। अगुवाई गर्ने कुरामा फरक दलका मान्छेले गर्न सक्ने ढोका खुला छ। किनकि यो अभियान कुनै व्यक्तिलाई नेता बनाउन थालिएको अभियान होइन। यसमा कुनै व्यक्तिले अमुक पद प्राप्तिका लागि प्रयत्न गर्दैन। पद निरपेक्ष, भूमिका निरपेक्ष हुनेछ। यो खाली एउटा जागरण अभियान हो। देशमा हिजो के भयो, के हुनु हुन्थेन। अब के हुनहुँदैन, के हुनुपर्छ भन्ने कुरामा अभियान फोकस हुन्छ।
यो अभियान कुनै व्यक्ति लक्षित छैन। कुनै व्यक्तिमाथि प्रहार गर्ने र कसैलाई बलियो बनाउने काम अभियानले गर्दैन। अभियानमा पार्टीभित्रको आन्तरिक राजनीतिलाई प्रवेश गराइँदैन। समाज र पार्टीहरुभित्रका आन्तरिक बेथिति अभियानको मुख्य विषयवस्तु हो। अभियानको उद्देश्य लोकतन्त्रलाई सही बोटोमा हिँडाउने हुनेछ। लोकतन्त्र, लोकतन्त्र जस्तो भएन। लोकतान्त्रिक राजनीति, लोकतान्त्रिक राजनीति जस्तो भएन।
यदि यस्तै हुन दिइरहने हो भने लोकतन्त्रको भविष्य अन्योलमा पर्छ। यहाँ कि नयाँ शक्तिले टेकओभर गर्छ। कि परम्परागत शक्तिले टेकओभर गर्छ। हामीले अहिले यति उर्वर भूमि तयार पार्दैछौं कि यहाँ कसको राजनीतिक जेट आएर बस्छ भन्न सकिन्नँ। राजनीतिक दलहरु सुध्रिए, नयाँ पार्टीहरु झन् ठिक भएर आए भने लोकतन्त्रमाथि संकट पैदा हुँदैन। तर पुराना पार्टी सुध्रिएनन् र नयाँ ठिक मात्र भए भने पुराना पार्टी बाँच्दैनन्। पुराना पार्टीको पदचिन्हमा नयाँ पार्टी पनि हिँड्न थाले भने प्रणाली बाँच्दैन।
अहिले एकथरी सत्तामै मग्न छन्, एकथरी सत्तामा जाने दिन गनेर बसेका छन्। यो भन्दा हाम्रो चासो र प्राथमिकता केमा छ? केहीमा पनि छैन। अन्तस्करण खुलेर तिमीहरु ‘यो बाटो हिँड्दैछौ, यो बाटो हिँड’ भनेर कसैले त भनिदिन पर्यो नि!
(वैशाख ११ गतेबाट मेचीकाली यात्रा सुरु गर्न लागेका नेपाली कांग्रेसका नेता घिमिरेसँग गरिएको कुराकानीमा आधारित सामग्री।)


