काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सेवाग्राहीले निवेदन दिएको एक घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएका छन्।
आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले यस्तो निर्देशन जारी गरेका हुन्।
आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति सक्ने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गर्न निर्देशन दिएका हुन्।
वैदेशिक रोजगारीको कामकारबाही र प्रक्रियालाई प्रविधिमैत्री बनाउन विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ। तर, प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि श्रमिकहरु हैरानी खेप्दै आएका छन्।
फेमिसको प्राविधिक प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमा नै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु परेको छ।
‘तपाईहरुले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस्। अन्यथा अन्य विकल्प खोजेर भएपनि एक घण्टामा श्रम स्वीकृति दिन सक्ने गरी फेमिस प्रणालीको सुधार गर्नेछु,’ आपूर्तिकर्तासँग छलफल गर्दै मन्त्री अर्यालले भने।
मन्त्रालयको सुचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको बताएको छ।
फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई–बिमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टिटेक कम्पनी हो।
सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाइन टोकन र श्रम स्वीकृति प्रदान गर्नका लागि सफ्टवेयर खरिद गरेको थियो।



