काठमाडौँ- पहिलो चरणको रोजगार अनुमती प्रणाली (ईपीएस) कोरियाली भाषा परीक्षामा उत्पादनमूलकतर्फ ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
फागुन ७ गतेदेखि चैत २४ गतेसम्म सञ्चालित पहिलो चरणको भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्येबाट ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जानकारी दिएको हो।
वैदेशिक रोजगार विभागअन्तर्गत शाखाका अनुसार उत्तीर्ण भएकाहरूले अब सीप परीक्षा दिनु पर्नेछ।
‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुन पाउँछन्।
आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सीप परीक्षण गरिने भएको छ।
सिप परीक्षा दिन जाँदा राहदानी र प्रवेशपत्र लिएर जानुपर्नेछ।
उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म हुँदैछ।
तेस्रो चरणको परीक्षा कात्तिक २६ देखि पुस २ गतेसम्म सञ्चालन हुने ईपीएस शाखाले जानकारी दिएको छ।


