काठमाडौँ- इलाम–२ को मतगणना कार्यलाई छिटो सम्पन्न गर्न ३ स्थानमा मतगणनाको तयारी गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३ ठाउँमा मत गणनाको तयारी गरेको जानकारी दिएको छ।
सोमबार बिहानसम्म २ गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङ्सेबुङको गणना जारी छ। अझै ३ पालिकाको मतगणना बाँकी छ।
तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।
अहिलेसम्म २१ हजार ८१० मतगणना भइसकेको छ। यसपटक ६९ हजार २७० मत खसेको थियो। अझै ४७ हजार ४६० मत भने गणना गर्न बाँकी छ। यो मतगणनाको नतिजा मङ्गलबार बिहानसम्म आउने अनुमान गरिएको छ।
सोमबार बिहानसम्म नेकपा (एमाले)का उम्मेदवार सुहान नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। उनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई २ हजार ६१८ मतले पछि पारेका छन्।
कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गरेका छन्। यसैगरी, स्वतन्त्र उम्मेदवरा डकेन्द्रसिंह थेगिमले ४ हजार ६३४ मत र राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूले १ हजार ३०५ मत प्राप्त गरेका छन्।


