काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। गत चैत्र २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज विश्वासको मत लिने भएका हुन्।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको सुवेदी बताए। मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन्।
सभामुखलाई गणना गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको भन्दै निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्च वैशाख १७ गते खारेज गरिदिएको थियो।
एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन्।
अधिकारीलाई २ सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन नगर्ने संकेत गरेको छ। यो अवस्थामा विश्वासको मत पाउन सकस देखिन्छ।
गण्डकी प्रदेशसभामा ६० जना सांसद छन्। तर, सर्वोच्चको व्याख्याअनुसार ३० सांसदको समर्थन हुँदा बहुमत पुग्ने गठबन्धन नेताहरू दाबी गर्दै आएका छन्। कांग्रेसका नेताहरू भने विश्वासको मत लिँदा बहुमतका लागि ३१ जनाकै समर्थन आवश्यक पर्ने तर्क गर्छन।
