काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलका शीर्ष नेताहरूलाई बैठकमा बोलाएका छन्।
मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामखुले उनीहरूलाई बोलाएका हुन्।
बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सभामुखले बोलाएका छन्।
वैशाख २८ गते सुरु हुने संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउनका लागि दलका शीर्ष नेतालाई बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोपमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै प्रमुख विपक्षी कांग्रेसले सदनमा विरोध गर्दै आएको छ। कांग्रेस प्रमुख प्रतिपक्षको कित्तामा पुगेसँगै उसले विरोध जारी राखेको छ।
सोही माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले विरोधका कार्यक्रमलाई चर्काएपछि सरकारले सदनको अधिवेशन नै अन्त्य गर्न सिफारिस गरेको थियो।
तर कांग्रेसले विरोधका कार्यक्रम यथावत रहेको र आफूहरूको बटमलाईन नै लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताएपछि सभामुखले दलका नेताहरूको बैठक बोलाएका हुन्।
सभामुखमा घिमिरे निर्वाचित भएयताको १५ महिनामा ९ पटक शीर्ष नेताको बैठक बसेको छ।


