काठमाडौँ- नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले पदको फाइदा उठाउँदै महान्यायाधिवक्ताको कार्यालयलाई दुरूपयोग गरेको निष्कर्ष निकालेको छ।
विभिन्न सहकारीको पैसा हिनामिना गर्नेमा संलग्न रहेको आरोप लागेका गृहमन्त्रीले राजीनामा दिनु पर्ने माग राख्दै आएको थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले उनलाई क्लिन चिट दिएको छ।
गृहमन्त्री लामिछानेले सत्ताको आडमा महान्यायाधिवक्ताको कार्यालयलाई दुरूपयोग गरेको यो दोस्रो पटक हो।
पहिलो पटक दोहोरो नागरिकताको मुद्दा चलेका बेला २०७९ सालको चैत्रमा पनि महान्यायाधिवक्ताको कार्यालयले उनलाई क्लिन चिट दिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनु पूर्व लामिछानेलाई दोहोरो नागरिक्ता प्रकरणमा अनुसन्धान गर्न नपर्ने भन्दै महान्यायाधिवक्ताको कार्यालयले पत्र लेखेको थियो।
मंगलबार, राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसले सहकारी ठगीमा रविको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग दोहोर्याएपछि गृहमन्त्री लामिछानेले आफूमाथि कुनै उजुरी र अभियोग नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले दिएको चिठी देखाएका थिए।
त्यो चिठी उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका महान्यायाधिवक्ता दिनमणि पोखरेल नेतृत्वको महान्यायाधिवक्ता कार्यालयले दिएको हो।
उक्त पत्रमा पोखरा, चितवन र बुटवलका सहकारी ठगीमा रविविरूद्ध उजुरी नपरेको, अनुसन्धान जारी नरहेको र अभियोग पनि नलगाइएको उल्लेख छ।


