काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग तत्काल सहमति कायम गरेर सदनको अवरोध हटाउन आग्रह गरेका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार भएको भेटमा सभामुख घिमिरेले प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन्।
कांग्रेससँग तत्काल सहमति गरेर सदनको अवरोध हटाउने भूमिका खेल्न सभामुखले प्रधानमन्त्रीलाई आग्रह गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको अवस्थामा सभामुखले कांग्रेससँग सहमति जुटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
जवाफमा प्रधानमन्त्री प्रचण्डले बुधबार नै सत्तापक्षका नेताहरूको बैठक बस्ने तयारी भएको जानकारी दिएका थिए।
प्रतिनिधि सभाको बैठक बिहीबारका लागि तोकिएको छ। उक्त बैठकमा अवरोध खुलाउने प्रयासमा आफू रहेको सभामुखलाई सुनाएका थिए।


