काठमाडौँ- सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब कांग्रेसलाई बोल्न नदिइने बताएका छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने नत्र कांग्रेसलाई पनि बोल्न नदिने उनले बताए।
‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने? बकवास बोलिरहने? अर्काले प्रतिवाद पनि गर्न नपाउने, यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ।’
नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दल बैठकमा ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने? अर्को दिनबाट हामी पनि बोल्ने हो। कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने?’
उनले बिहीबारदेखि संसद सञ्चालनमा बाधा पुग्न नहुने उनको भनाइ छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरिरहेको छ।
कांग्रेसले अबदेखि सदनमा गिरीबन्धु टी-इस्टेटबारे पनि आवाज उठाउने बताएको थियो।
ओलीले कांग्रेस महामन्त्री गगन थापाले संसदमा उद्दण्डता प्रस्तुत गरेको पनि बताए। वैशाख २८ गते बसेको संसद् बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापाले निगाहको नभई आफ्नो हकको समय खोजेको बताएका थिए।
कांग्रेसप्रति ओलीको टिप्पणी
सभामुखले फलानालाई बोल्न दिन्छु भन्दा बोल्न नपाइने? यति अशिष्ट ढंगले!,’ उनले भने, ‘सभामुखले मैले तपाईंलाई समय दिएँ भन्दा तपाईंको निगाहको समय चाहिँदैन भने उद्दण्डता प्रस्तुत गर्ने? संसदमा? सभामुखसँगको के भाषा हो त्यो? नेपाली कांग्रेसको? सभामुखसँग त्यस्तो भाषाा प्रयोग गरेर संसद चलाउन खोज्या हो नेपाली कांग्रेसले?
‘नेपाली कांग्रेस अनेक आरोपहरू लगाउँछ। फाइल दबाउँदा हैरान छ! नेपाली कांग्रेस…! अनि फाल्तु कुरा गर्ने? एमालेकाविरूद्ध जथाभावी? हाम्रो कहीँ कतै…, नेपाली जनता भ्रममा पर्न जरूरी छैन।
देश यस्तो अवस्थामा छ, अर्थतन्त्र नाजुक अवस्थामा छ। राजनीति जटिल अवस्थामा छ। एउटा पार्टीको संकीर्ण स्वार्थ, गुट स्वार्थ, सत्ता स्वार्थका लागि संसद् बन्धक बनाएर राख्ने र स्वेच्छाचारी ढंगले आफ्नो इच्छाअनुसार मात्र संसद् चल्ने? भिन्न आस्था, भिन्न विचार, भिन्न संस्था, भिन्न पार्टी, सहअस्तित्व र पारस्परिक मर्यादा नेपाली कांग्रेसले बुझ्छ कि बुझ्दैन।
हामी लोकतन्त्र, नेपाली कांग्रेसले लोकतन्त्र किस्तीमा दिएर, आहा लोकतन्त्र भनेर किस्ती स्वीकारेका मानिस होइनौं। बलिदान दिएर संघर्ष गरेर लोकतन्त्र ल्याएका मानिस हौं। त्यसकारण नेपाली कांग्रेसले नेकपा (एमाले)का सन्दर्भमा बोल्दा विचार पुर्याउनु! टिप्पणी गर्दा याद राख्नु!


