काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दै छ। नेपाली कांग्रेसले निरन्तर अवरोध गर्दै आएको छ। आज पनि कांग्रेसले अवरोध गर्ने सम्भावना कायम छ।
तर, आजको बैठकमा सत्तापक्ष पनि पेलेरै जान खोज्ने छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै कांग्रेसले संसदमा बोल्द पाउँदैन भन्ने धारणा राखेका छन्।
यस्तै, गृहमन्त्री रवि लामिछानेले पनि आफूले बोल्न पाउँनु पर्ने दाबी गरेका छन्। उनले आफूले बोलेपछि कांग्रेससँग छलफल गर्नसकिने बताएका छन्। सत्ता गठबन्धनका प्रचण्ड, ओली र लामिछानेबीच बुधबार सहमति भएको छ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मङ्गलवार गरेको सम्बोधनको लागि प्रतिनिधिसभाको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ।
यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने, उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
साथै उद्योग मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन्।


