काठमाडौँ– सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको नेपाली कांग्रेसले बताएको छ।
शनिबार बालुवाटारमा प्रधानमन्त्रीसँग कुराकानी गरेर निस्किएका कांग्रेस नेता रमेश लेखकले उक्त कुरा बताएका हुन्।
‘कांग्रेसको मागअनुसार छानबिन समिति प्रधानमन्त्री बनाउन सकारात्मक हुनुहुन्छ,’ उनले भने।
बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए।
त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए।
कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसदमा अवरोध गर्दै आएको छ।


