काठमाडौँ- देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बालश्रम शोषण हुने गरेको पाइएको छ।
सिंहदरबारभित्र रहेका मन्त्रालयका क्यान्टिनबाटै श्रम शोषणमा परेका बालबालिकाको उद्धार भएपछि यो तथ्य सार्वजनिक भएको हो।
महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेको तीन मन्त्रालयका क्यान्टिनबाट बालबालिका उद्धार गरेको हो।
सञ्चार, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्यान्टिनमा कार्यरत ५ जना बालबालिकालाई उद्धार गरेको हो।
देशको प्रशासनिक केन्द्र सिंहदरबारमै १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाएर शोषण गर्ने गरेको पाइएकाले बालबालिकालाई उद्धार गरिएको महानगरले जानकारी दिएको छ।
यसअघि महानगरले विभिन्न ठाउँमा श्रममा लगाएका बालबालिकालाई उद्धार गरेको थियो।
विश्व बालश्रम शोषण विरुद्धको दिवस (जुन १२)कै दिन देशकै प्रशासनिक केन्द्रमा बालश्रम शोषण हुने गरेको महानगरले खुलासा गरिदिएको हो।
उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रममा राखिँदै आएको छ।







