काठमाडौँ- सङ्घीय संसद् सचिवालयका कर्मचारीको भत्ता बढाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक सुरु भएको छ।
तलवभत्ता वृद्धिलगायतका माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीको मागका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष बैठक सुरु भएको छ।
बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन्।
बैठकमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन्।
कर्मचारीको आन्दोलनका कारण संसदका गतिविधि प्रभावित हुँदै आएका छन्।
आफूहरुका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका संसद सेवाका कर्मचारीले संघीय संसद भवन नयाँबानेश्वरमा धर्नासमेत दिँदै आएका छन्।
आन्दोलनमा रहेका कर्मचारीले असार ५ गतेको प्रतिनिधि सभा बैठकमा १२ मिनेटसम्म लगातार सभामुखलाई मात्र देखाएर विरोध जनाएका थिए।
यसबीचमा वक्ताहरूको आवाज लाइभ प्रसारण भएपनि दृश्यमा भने सभामुखलाई मात्र देखाएका थिए।


