काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले आफ्नो दैनिकीमा देशभक्ति झल्किने जिकिर गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका उनले यस्तो जिकिर गरेका हुन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने भएकाले देशभक्तिको कुरा उठाएर विवादित गराइएको आरोप लगाए।
‘हामी नयाँ कूटनीति, नयाँ राजनीतिको संस्कार बसाउन लागेका छौँ। अरुको राष्ट्रवाद कागज र भाषणमा होला। मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ,’ उनको जिकिर छ।
छिमेकी राष्ट्रहरुको उन्नयन र प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण्ण राख्दै हाक्काहाक्की संवाद गर्न सक्ने आफू भएको समेत उनको जिकिर छ। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेट गरेर पनि हाक्काहाक्की कुराकानी गरेको जिकिर गरेका थिए।
गत फागुन २० गते रास्वपाको नीति मन्थन कार्यक्रममा अभिव्यक्ति दिँदै वाग्लेले दक्षिण एसियाली मुनरो डक्ट्रिनको विषय उठाएर भारतका आसपासका देशमा प्रभाव पार्न खोज्ने र त्यो कुरा कुरा नेपालले बुझिदिनुपर्ने बताएका थिए।
एमाले सांसद रघुजी पन्तले वाग्लेको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। त्यसैलाई प्रतिवाद गर्दै उनले आफ्नो दैनिकीमा राष्ट्रवाद झल्कने जिकिर गरेका हुन्।
स्वर्णिम वाग्लेलाई मुनरो डक्ट्रिन पढाउँदै पन्तले भने- चेतना भया!


