सुर्खेत- प्रदेश सभा सदस्य राजीवविक्रम शाहको नेतृत्वमा नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।
दैलेखका सांसद घनश्याम भण्डारी, सल्यानका सुरेश अधिकारी र हुम्लाकी विजया बुढा मन्त्रीका मुख्य दाबेदार छ।
‘शाहको नेतृत्वमा सरकारमा जाने टुंगिएको छ। मन्त्रीमा विवाद थियो त्यो पनि मिलिसक्यो,’ कांग्रेसका एक सांसदले भने।
एमाले नेता यामलाल कँडेल मुख्यमन्त्री रहेको सरकारमा शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनेछन्।
भण्डारी सामाजिक विकास मन्त्री बन्दा अधिकारीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
यस्तै बुढालाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
चारमध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सल्यानका सुरेश अधिकारी संस्थापनेतर पक्षका हुन्।
कांग्रेस नेता जीवनबहादुर शाही र उपसभापति पूर्णबहादुर खड्काले आफूनिकटका सांसदलाई मन्त्री बनाउन अझसम्म पनि बल गरिरहेको कांग्रेसका एक नेताले बताए। यद्यपि राजीव केन्द्रीय सदस्य भएकाले उनलाई माइनस गरेर जाने अवस्था नरहेको ती नेताको दाबी छ।
८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले सम्हालिरहेको छ भने चार वटा कांग्रेसले सम्हाल्ने सहमति छ।
नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए।
बिहीबार राष्ट्रपतिबाट शपथ लिएका नवनियुक्त प्रदेश प्रमुख जोशी शुक्रबार बिहान मात्रै सुर्खेतका पुगेर पदभार ग्रहण गरेका छन्।
विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री, बहुमत जुट्ने सम्भावना क्षीण


