‘पर्यटन र शान्ति’को मूल मर्मसहित सेप्टेम्बर २७ मा मनाइरहेको विश्व पर्यटन दिवस नेपालका लागि पनि महत्त्वपूर्ण छ। प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र ऐतिहासिक सम्पदाले भरिपूर्ण नेपाल पर्यटनको लागि अथाह सम्भावना हुँदाहुँदै पनि यसबाट पूर्ण लाभ लिन भने चुकिरहेको देखिन्छ। विस्तारै उद्योगका रूपमा विकसित हुन लागेको पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी दुवै प्रकारका पर्यटकलाई आकर्षित गर्न प्रविधिको प्रयोग आवश्यक छ।
पर्यटन प्रवर्द्धनमा हरसमाजिक सञ्जाल जस्तै टिकटक पनि प्रभावकारी छ। छोटो र लामो आकारका भिडियो सेयर गर्न मिल्ने र संसारभर ठुलो संख्यामा प्रयोगकर्ताहरू भएको प्लेटफर्मले यसमा महत्वपूर्ण योगदान गर्न सक्ने सम्भावना छ। मानिसहरूले नयाँनयाँ यात्रा गन्तव्यहरूको बारेमा जानकारी लिन यस प्लेटफर्मले छिटो प्रभाव पार्न सक्छ। नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान र विस्तार गर्न यो प्लेटफर्मले भरपूर सहयोग गर्न सक्छ।
यस वर्षको पर्यटन दिवसका अवसरमा आफ्नो सन्देश साझा गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भनेझैँ पर्यटनले मानिसहरूलाई जोड्छ। दिगो पर्यटनले रोजगारी सिर्जना गर्न, समावेशीकरणलाई बढावा दिन र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँदै समुदायलाई रूपान्तरण गर्न सक्छ। पर्यटनले छिमेकीहरू बीचको आर्थिक अन्तरनिर्भरता, सहयोग र शान्तिपूर्ण विकासलाई पनि प्रोत्साहन गर्न सक्छ।
गुटरेसका अनुसार प्रत्येक यात्री एउटा संस्कृतिको तर्फबाट अर्को समाजका लागि राजदूत पनि बन्न सक्छ। त्यसैले पर्यटन दिवस मनाउने क्रममा जिम्मेवारीपूर्वक यात्रा गरौँ, सम्बन्ध सेतुहरू निर्माण गरौँ र संस्कृति र राष्ट्रहरूबीच आपसी सम्मानको प्रवर्द्धन गरौँ भन्ने वहाँको भनाइलाई आजको प्रविधिको प्रयोगद्वारा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ।
संसारकै अग्ला हिमालको घर र सांस्कृतिक खजानाको धनी नेपाल साहसिक पदयात्रा, सांस्कृतिक खोज र प्राकृतिक दृश्यावलोकनका लागि संसारभरका प्रकृतिप्रेमीहरूबीच लोकप्रिय गन्तव्य हो। पर्यटन उद्योगले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। यसले हजारौं रोजगारी सृजना गर्दै पर्याप्त राजस्व संकलनमा पनि योगदान गर्दै आएको छ। कोभिड महामारीले केही समय रोकिए पनि बलियो कमब्याक गर्दै सन् २०२३ मा १२ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन्।
मानिसहरूले नयाँनयाँ यात्रा गन्तव्यहरूको बारेमा जानकारी लिन यस प्लेटफर्मले छिटो प्रभाव पार्न सक्छ। नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान र विस्तार गर्न यो प्लेटफर्मले भरपूर सहयोग गर्न सक्छ।
यद्यपि विज्ञापनका परम्परागत रूप र मौखिक प्रचारले मात्र नेपालमा ऐतिहासिक रूपमा पर्यटनलाई प्रवर्धन गरिँदै आएको अवस्था हो। तर अहिले सामाजिक सञ्जाल, त्यसमा पनि विशेषगरी टिकटकको उदयले नेपालको पर्यटन प्रबर्धनका लागि नयाँ ढोका खोलेको छ। हातमा भएको स्मार्ट फोनमा हरेक सूचना, सञ्चार, जानकारी र ज्ञानको भण्डार हुने यस्तो युगमा सम्भावित यात्रीहरूलाई सगरमाथाको उचाइदेखि पोखराका शान्त तालहरू, काठमाडौंको जीवन्त सडक हुँदै ठमेलका शानदार साँझहरू र बागमती किनारको पशुपतिनाथदेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्मको आध्यात्मिक शान्ति प्रदर्शन गर्न टिकटकको विशाल पहुँचको फाइदा उठाउनै पर्छ। यसले हाम्रो पर्यटन सम्भावनाको अधिकतम लाभ लिन सघाउन सक्छ।
टिकटकले मानिसहरूले सिर्जना गर्ने यात्रासम्बन्धी कन्टेन्टको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। यसको छोटो, आकर्षक भिडियोहरू सेयर गर्ने सुविधामार्फत प्रयोगकर्ताहरूले आफ्नो यात्राका मोमेन्टहरू द्रुत रूपमा सिर्जना गर्न र सेयर गर्न सक्छन्। नेपालको पर्यटन उद्योगका लागि टिकटकले देशका विविध गन्तव्य, स्थानीय संस्कृति, चाडपर्व र साहसिक खेलहरूलाई परम्परागत मिडियाले गर्न नसक्ने तरिकाले हाइलाइट गर्न शक्तिशाली उपकरणको रूपमा काम गर्न सक्छ।
टिकटकको प्रमुख शक्तिहरूमध्ये एउटा सामग्री निर्माणका लागि समान अवसर दिने क्षमता हो। व्यावसायिक, साजसज्जायुक्त विज्ञापनहरू भन्दा भिन्न टिकटक भिडियोहरूले प्रायः कच्चा र प्रामाणिक यात्रा अनुभवहरू देखाउँछन्। अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने वा भक्तपुरको बिस्का जात्रा हेर्ने प्रयोगकर्ताले आफ्ना अनुभव तत्काल सेयर गर्न सक्छन्। यसले सम्भावित पर्यटकहरूलाई नेपालमा हेर्न पाइने कुराहरुको शुद्ध दृश्यहरू प्रदान गर्दछ।
टिकटकमा युवादेखि वृद्धसम्म छन्। यो जनसङ्ख्याको झुकाव परम्परागत पर्यटनको सट्टा अद्वितीय र अफबिट यात्रा अनुभवहरूतिर बढ्दै गएको छ। टिकटक मार्फत् नेपालले रारा ताल, खप्तड राष्ट्रिय निकुञ्ज वा मुस्ताङका गुफा र पहाडी गाउँहरू जस्ता कम चिनिएका गन्तव्यहरू प्रवर्द्धन गरेर काठमाडौं, पोखरा र एभरेष्ट बेस क्याम्प जस्ता लोकप्रिय ठाउँहरूभन्दा बाहिरका पर्यटकीय गन्तव्यहरूलाई विविधीकरण गरेर पनि दर्शकहरूलाई आकर्षित गर्न सक्छ।
नेपाल भ्रमण गरेका यात्रुहरूले पनि आफ्ना यात्रा अनुभवहरू बाँड्दै यहाँ लुकेर रहेका सम्पदाहरूको बारेमा चर्चा गर्न सक्छन्।
वर्ड अफ माउथ अर्थात् कसैको बोलीकै भरमा यात्राको निर्णय गर्नेहरूलाई पनि प्रभाव पार्न टिकटकले महत्त्वपूर्ण भूमिका खेल्छ। टिकटकले प्रयोगकर्ताहरूलाई गन्तव्यहरू, यात्रा विवरण र यात्राका लागि आवश्यक सुझावहरू धेरै देखिने गरी सिफारिस गर्न सक्छ। नेपाल भ्रमण गरेका यात्रुहरूले पनि आफ्ना यात्रा अनुभवहरू बाँड्दै यहाँ लुकेर रहेका सम्पदाहरूको बारेमा चर्चा गर्न सक्छन्। यसबाहेक यहाँका मानिसका आतिथ्यता, बोलीवचन, रहनसहन र उनीहरूले प्राप्त गरेको सेवाको बारेमा बताउँदै अन्य पर्यटकलाई पनि भ्रमण गर्न प्रोत्साहन गर्न सक्छन्।
समृद्ध सांस्कृतिक सम्पदा नेपालको सबैभन्दा बलियो सम्पत्ति हो। टिकटकले नेपालका चाडपर्व, रीतिरिवाज र परम्परागत अभ्यासहरू विश्वव्यापी दर्शकलाई देखाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। उदाहरणका लागि दशैं, तिहार, होली वा इन्द्रजात्रा जस्ता उत्सवका भिडियोहरूले विश्वभरका प्रयोगकर्ताहरूलाई देशको जीवन्तता र सांस्कृतिक गहिराइको झलक देखाउन सक्छ। फलस्वरूप यसले यी चाडपर्वहरूमा संस्कृति खोज्नेहरूलाई नेपाल भ्रमण गर्न लोभ्याउन सक्छ।
टिकटकमा ट्राभल इन्फ्लुएन्सरहरूको आफ्ना फलोअरहरूमा ठूलो प्रभाव रहेको हुन्छ। ट्राभल सामग्रीमा विशेषज्ञता भएका इन्फ्लुएन्सरहरूसँग साझेदारी गरेर नेपालको पर्यटन बोर्ड र पर्यटन व्यवसायहरूले प्रभावकारी रूपमा लाखौं आगन्तुकहरूलाई आकर्षित गर्न सक्छन्। नेपाली टिकटक प्रयोगकर्ताहरूमा सर्वाधिक चर्चित यात्रा भ्लगरहरू घुमन्ते, सिसन बानिया, मुना चिया जस्ता ठूला फलोअर भएकाहरूले नेपालको साहसिक पर्यटन, पदमार्गहरू, आध्यात्मिक रिट्रीट र जङ्गल सफारीहरूका बारेमा आकर्षक कथाहरू सिर्जना गर्न सक्छन्।
टिकटकले नेपाल, श्रीलंका र बंगलादेशलगायतका क्षेत्रका पर्यटकीय सम्पदाको अभिलेख बनाउन हालै दक्षिण एसियाका ट्राभल क्रिएटरहरूसँगको सहकार्यमा आफ्नो #DiscoverWithTikTok अभियान सुरु गरेको छ। यस क्षेत्रका ट्राभल क्रिएटरहरूले विभिन्न गन्तव्यहरूको भ्रमण गर्ने र टिकटकमा आफ्ना अनुभवहरू साझा गर्ने सोच अनुसार यो अभियान सुरु गरिएको हो।
बंगलादेशी क्रियटर तान्हा इस्लाम र रोनी शराफतले नेपालका रमणीय प्राकृतिक परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र परम्परागत थाली लगायत स्वादिला स्ट्रिट फुडहरू देखाउने मनमोहक भिडियो सिरिज तयार गरेका छन्। उनीहरूका भिडियोहरूले ऐतिहासिकता बोकेको काठमाडौं, ठमेलका व्यस्त सडक र शान्त सहर पोखरा जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरू देखाउँदै यात्राको विस्तृत गाइड पनि प्रदान गरेका छन्। यी क्रियटरहरुले नगरकोट र भक्तपुरका गाउँहरूको शान्त जीवनका झलकहरू प्रस्तुत गर्दै आफ्ना दर्शकहरूलाई भिडियो मार्फत् दरबार स्क्वायर र स्वयम्भूमा रोमान्चक किनमेल गर्न पनि लिएर गएका थिए।
टिकटकको लोकप्रियता र सम्भाव्यताको सदुपयोग गरेर नेपालले आफूलाई विश्वभरका पर्यटकहरूको रोजाइको गन्तव्यको रूपमा स्थापित गर्न सक्छ। रणनीतिक सामग्रीको प्रवर्द्धन, इन्फ़्लुएन्सरहरूसँग साझेदारी र दिगो पर्यटन अभ्यासहरूमा जोड दिएर टिकटक नेपालको पर्यटन रणनीतिको आधारशिला बन्न सक्छ। फलस्वरूप यसले पर्यटन उद्योगलाई विकास, विविधता र विश्वव्यापी मान्यतातर्फ अघि बढाउन सक्छ।
