काठमाडौँ- मानव तस्करी गरी जापान लैजाने प्रकरणमा मुछिएका कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरी काठमाडौँ ल्याइएको छ।
उनलाई अदालतमा उपस्थित गराउनका लागि सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको छ।
सरकारी वकिलको कार्यालयपछि उनलाई अदालत उपस्थित गराएर हिरासतमा राख्नका लागि म्याद लिने तयारी प्रहरीको छ।
आइतबार कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए।
मन्त्रीबाट राजीनामा दिएको ४ दिनमा नै अधिकारी पक्राउ परेका हुन्।
नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको आरोप उनीमाथि छ।
कात्तिक २१ गते बुधबार मात्र उनले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको पदबाट राजीनामा दिएका थिए।
प्रदेश मन्त्रिपरिषद् र संघ सरकारको अनुमति बेगर नै जापान गएको र अरु व्यक्तिलाई पनि पैसा लिएर जापान लगेको विषय सार्वजनिक भएपछि अधिकारीले बुधबार राजीनामा दिएका थिए।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ।
तर अधिकारी मन्त्रीपरिषद्को निर्णयविपरीत जापान पुगेका थिए। उनलाई जापानको अध्यागमनले जापान प्रवेश गर्न नै नदिई फिर्ता पठाएको थियो।
अधिकारी गत कात्तिक १३ गते जापानको टोकियोमा हुने एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुने भन्दै गएका थिए। तर स्रोतका अनुसार उनी उक्त कार्यक्रममा सहभागी नभई फर्केपछि थप विवादमा परेका थिए।
काठमाडौँ फर्कँदा ‘मन्त्री हुँ’ भन्दै विमानस्थलबाट बाहिरिएका अधिकारीसँगै गएका तीन जना भने यसअघि नै पक्राउ परेका छन्।









