नेवारी समुदायमा चाकुको विशेष महत्त्व छ। परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको चाडपर्वमा चाकुको माग अझ बढ्छ। नेवार समुदायमा यःमरी पुन्हीदेखि नै यसको प्रयोग सुरु हुन्छ। नेवाःहरूको मौलिक परिकार यःमरी बनाउन विशेष गरेर चाकु नै बढी प्रयोग हुने गर्दछ। य:मरीमा चाकुबाहेकका थुप्रै तत्त्वसमेत प्रयोग गरिन्छ।
यःमरि पुन्हीमा तिल, चाकु, लटे र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार ‘यःमरि’ तयार पारिन्छ। तसर्थ चाकु नभई नहुने तत्त्व भन्दा पनि फरक पर्दैन। नेवार समुदायका अधिकांश खानेकुरा ऋतुसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ।
मकर सक्रान्तिमा नेवार समुदायले घ्यू, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ तयार गरी सेवन गर्छन्। यसलाई नेवा:हरूले ‘घ्यू चाकु सँल्हु’ भनेर पनि भन्ने चलन छ। यस माघे संक्रान्तिमा समयबजीका रुपमा चिउरा, पोलेको मासु, साँधेको भटमास, अदुवा राखेर खाने चलन छ।
चिसो लाग्नबाट बचाउने र शरीरलाई ताप तथा ऊर्जा दिने पौष्टिक आहारको रुपमा चाकुलाई लिने गरिन्छ। नेवा: समाजमा बच्चा जन्मेदेखि अन्तिम संस्कारसम्म यसको प्रयोग हुने गर्दछ।
प्राचीनकालमा बाक्लो लुगा सजिलै नपाइने हुँदा जाडोयाममा बालबालिका, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडोबाट जोगाउन सकियोस् भनेर यसलाई प्रयोग गर्ने गरिएको थियो। त्यस बखत उखुको प्रशस्त खेती पनि हुने भएकाले सहजै सख्खर तथा चाकु पाइन्थ्यो। मौलिक उत्पादनलाई औषधिका रूपमा लिने गरिएको थियो।
पौषमाघ महिनाको चिसोमा चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुनुका साथै घ्यूसँग मिलाएर खाँदा शरीरलाई ताप, शक्ति र ऊर्जा प्राप्त हुने मान्यता छ। चाकुमा हुने कालो पदार्थमा अधिक मात्रामा आइरन पाइने हुँदा कमजोर शरीर तथा रक्तअल्पता भएका बिरामीको लागि यसले धेरै फाइदा गर्ने वैज्ञानिक रूपमा स्वीकार गरिएको छ।
चिसो लाग्नबाट बचाउने र शरीरलाई ताप तथा ऊर्जा दिने पौष्टिक आहारको रुपमा चाकुलाई लिने गरिन्छ। नेवा: समाजमा बच्चा जन्मेदेखि मर्ने बेलासम्म यसको प्रयोग हुने गर्दछ।
अन्य जात जातीको तुलनामा नेवा:हरूले चाकुलाई बढी उपयोगमा ल्याउँछन्। नेपालका अधिकांश नेवा: बस्तीहरू विशेषगरी काठमाडौंको टोखा, ललितपुरको पाटन, काभ्रेको बनेपा र धुलिखेललगायत क्षेत्रमा चाकुको उत्पादन बढी हुन्छ। यसलाई हाम्रो नेपालको अर्गानिक चक्लेट भने पनि हुन्छ। चाडपर्व नजिकिएसँग चाकुको उत्पादन र व्यापार बढ्ने गर्दछ।
उखु यसको कच्चा पदार्थ हो। आजकल पहाडी भूभागमा खेती गर्ने चलन हराइसकेको छ। तराइमा भने अझै खेती हुन्छ। प्राय: युवाहरू विदेशप्रतिको मोहले देशमै केही नहुने भन्दै बिदेसिने परिपाटी छ।
चाकु बनाउन सुरुमा उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ। चाकुलाई बनाउन पहिले पानीमा सख्खर राखी तामाको भाँडामा आगोमा लामो समयसम्म पकाउनु पर्दछ। पानी र सख्खर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्नु पर्दछ। सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिटी राखने र त्यसलाई तन्काएर ताड्नु पर्छ जसले गर्दा चाकुको रातो रंग आउँछ र खानको लागि पनि नरम र स्वादिलो हुन्छ।
यसमा किसकिस, काजु, बदाम, नरिवल जस्ता सामग्री थप गर्न पनि सकिन्छ। घरेलु तरिकाले आफूले चाहे अनुसारको आकारमा चाकु तयार गर्न गाह्रो छैन।
चाकुलाई विदेश निर्यात गर्न सके देशको अर्थतन्त्रलाई योगदान नै हुन्छ। व्यावसायिक हिसाबले पहिले पहिले साधारण खालको चाकु बनाउने गरिएता पनि अहिले मसलेदार चाकु बनाउन थालिएको पाइन्छ।


