काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ। सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणी चापागाई, नारद कुमार लईंटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरेको हो।
उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभवको आधारमा ५ जनालाई सर्टलिस्ट गरी अन्तरवार्ताका लागि छनोट गरिएको सीईओ सिफारिस समितिले जनाएको छ। साथै छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि चैत ६ गते अर्थ मन्त्रालयमा बोलाइएको छ।
व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ। नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए।
नेप्सेको सीईओ पदका लागि सर्टलिस्ट भएका ५ जनासहित युवराज दाहाल, प्रविण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकन्दराज जोशीले सीईओका लागि आवेदन दिएका थिए।
सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो। सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेललाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन्।
कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओविहीन छ। कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन्।


