काठमाडौँ- गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार थामिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.१० अङ्कले बढेर दुई हजार छ सय ४०.७८ को बिन्दुमा कायम भएको हो।
सोमवार विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ।
कारोबारमा आएका सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै वित्त समूह ३.५२ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ ०.७१, विकास बैंक ०.७१, होटल तथा पर्यटन १.०३, जलविद्युत् ०.९५, लगानी ०.८३, जीवन बीमा १.४६ र उत्पादन तथा प्रशोधन समूह ०.७८ प्रतिशतले बढेको छ। त्यस्तै, लघुवित्त ०.७९, म्युचुअल फन्ड ०.४४, निर्जीवन बीमा ०.६५, व्यापार एक.०६ र अन्य समूह १.५० प्रतिशतले बढेको छ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्य आज सबैभन्दा धेरै ९.५१ प्रतिशतले बढ्को छ। सबैभन्दा धेरै घट्नेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ४.२६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ६९ लाख ७७ हजार ५७८ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सात लाख १० हजार कित्ता शेयर किनबेच भएको छ।
