काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सञ्चालन गर्दै आएको नवप्रवर्तन (स्टार्टअप) उद्यम कर्जा कार्यक्रमप्रति देशभरका उद्यमीको आकर्षण बढ्दो क्रममा रहेको छ। चालू आर्थिक वर्षका लागि प्रतिष्ठानले आह्वान गरेको आवेदनमा अनलाइन तथा भौतिक दुवै माध्यममार्फत ठूलो संख्यामा आवेदकको सहभागिता देखिएको छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताका अनुसार अन्तिम दिन मंगलबार साँझ ४ बजेसम्म २ हजार ४१ जनाले भौतिक रूपमा फारम बुझाएका छन्। साथै अनलाइनमा १६ हजार ७८१ जनाले युजर खाता बनाएका छन्। जसमा ८ हजार २०३ जनाले आवेदन फारमका १२ मध्ये ९–११ स्टेपसम्म भरेका छन्।
अनलाइन आवेदन पूरा गर्नेको संख्या ५ हजार ४५२ रहेको छ भने २ हजार ७५१ जनाले प्रक्रिया अपूर्ण छाडेका छन्।
यस वर्ष प्रतिष्ठानले ४ सय उद्यमीलाई मात्र कर्जा वितरण गर्ने लक्ष्य राखेको सूचना अधिकारी मनिराम गौतमले जानकारी दिए। गत वर्ष ५ सयको लक्ष्य राखिए पनि ६६१ जनालाई सिफारिस गरिएको थियो।
स्टार्टअप कर्जामा बढ्दो आकर्षण, तीन वर्षमा ८३८ ले पाए ऋण
यस वर्ष सरकारले स्टार्टअप कर्जाको सीमा घटाएको छ। नयाँ ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८२’ अनुसार अब उद्यमीहरूले ५ लाखदेखि २० लाख रुपैयाँसम्म मात्र कर्जा पाउनेछन्। अघिल्लो कार्यविधिमा अधिकतम सीमा २५ लाख रुपैयाँ थियो।
सूचना अधिकारी गौतमका अनुसार बजेट अभाव वा धेरैलाई कर्जा उपलब्ध गराउन कर्जा सीमा घटाइएको हुन सक्छ।
आर्थिक वर्ष २०८०/०८१ देखि हालसम्म ८३८ उद्यमीले स्टार्टअप कर्जा प्राप्त गरिसकेका छन्। कार्यकारी निर्देशक गुप्ताका अनुसार उद्यमीहरूले व्यवसाय सञ्चालन गर्दै नियमित रूपमा ऋण चुक्ता गरिरहेका छन्।
हालसम्म पहिलो र दोस्रो वर्षका ऋणीहरूले २ करोड ९० लाख रुपैयाँ फिर्ता गरेका छन्। यस कर्जामा उद्यमीहरूले ३ प्रतिशत ब्याजदर तिर्नुपर्छ।


