काठमाडौँ: २०८२ असार २४ मा हिमताल फुटेर स्रोत नदी ल्हेन्देखोलामा भीषण बाढी आउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति भयो। चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा हिमताल विष्फोटबाट रसुवागढी जलविद्युत आयोजनाको बाँध स्थलको इन्टेक, डाइभर्सन वेयरलगायत बाँध स्थलका अधिकांश सिभिल संरचना र मेसिनहरूमा ठूलो क्षति पुर्याएको थियो।
अस्थायी बाँध (कफर ड्याम) बनाएर तीनवटै युनिट सञ्चालनमा ल्याएर बर्खामा १११ मेगावाट बिजुली उत्पादन भइरहेको छ। आयोजनामा क्षति भएको एक वर्ष भन्दा बढी समय बितिसक्दा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले दाबी भुक्तानी गरेको छैन।
हिमालयन एभरेष्टले दाबी भुक्तानीमा आलटाल गरिरहेको रसुवागढी हाइडोपावर लिमिटेडले बताएको छ। रसुवागढी हाइड्रोपावरले सार्वजनिक गरेको वित्तीय विवरणमा क्षति भएका संरचना तथा मेसिन उपकरणहरुको प्रारम्भिक मूल्यांकन गरी बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्समा प्रारम्भिक चरणमा १ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा दाबी गरेको उल्लेख गरेको छ।
पुर्नस्थापना र पुर्ननिर्माणको कार्य गर्दै जाँदा केही संरचनाहरुमा अनुमानको तुलनामा कम क्षति पुगेको पाइएपछि संशोधित बीमा दाबी १ अर्ब ५२ करोड ७६ लाख रुपैयाँ पेश गरिएको रसुवागढी हाइडोपावरले जनाएको छ।
रसुवागढी आयोजनाको ७५ प्रतिशत पुनःनिर्माण सम्पन्न, साढे तीन अर्ब क्षति
हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाई रसुवागढीको छ।
आयोजनामा भएको क्षतिको बीमा दाबी पेस गरेको लामो समय बितिसकेको रसुवागढी हाइड्रोपावरका एक अधिकारीले बताए। नेपाल क्लिक्ससँग कुरा गर्दै ती अधिकारीले भने ‘एक वर्षसम्म दाबी सेटल नगरेपछि हामीलाई अप्ठेरो पर्यो। त्यही भएर यस पालीको वित्तीय विवरणमा दाबी भुक्तानी नपाएको विषय उल्लेख गरेको हो।’
‘आयोजनाको पुनर्निमाणको काम भइरहेको छ। हाम्रो कति खर्च भयो भन्दा पनि नोक्सान कति भयो भन्ने विषयमा बीमा दाबी भुक्तानीको सम्बन्ध हो,’ ती अधिकारीले भने ‘हामी पूर्वाधार थप्न सक्छौँ त्यो बीमा कम्पनीको सरोकारको विषय भएन।’
‘बीमा कम्पनी प्रिमियम लिने बेला सहजै स्वीकार गर्ने तर दाबी भुक्तानीमा सकेसम्म विभिन्न बखेडा झिक्ने र लम्बाएर नतिर्न नपाए हुने जस्तो गर्दा रहेछन।’ ती अधिकारीले भने।
यता हिमालयन एभरेष्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले रसुवागढी हाइड्रोपावरले आवश्क कागजात दिन ढिलाइ गरेकाले दाबी भुक्तानीमा ढिलाइ भएको बताइन्। नेपाल क्लिक्ससँग कुरा गर्दै उनले हिमालयन एभरेष्टका साथै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड पनि रहेको जानकारी दिइन्।
रसुवागढी जलविद्युत्को लागत थपिँदै, पुनर्निर्माण गर्न बैंकबाट थप तीन अर्ब ऋण
गत साता नै आवश्यक कागजात दिने कुरा भएको र सबै कागजात आउनसाथ दाबी भुक्तानी दिने उनले स्पष्ट पारिन्। प्रक्रिया पुगेपछि मात्र भुक्तानी गर्न मिल्ने उनको भनाई छ। यसबीचमा २० करोड रुपैयाँ भुक्तानी भइसकेको उनले जानकारी दिइन्।
नियामक नेपाल बीमा प्राधिकरणलेसमेत दाबी भुक्तानी छिटो गर्न निर्देशन दिँदै आएको छ। तर, कम्पनीहरुले दिन ढिलाइ गरिरहेको गुनासाहरु आइरहेका छन्।
रसुवागढी जलविद्युत आयोजनाबाट २०८१ पुस १६ देखि व्यापारीक विद्युत उत्पादन सुरु भएको हो।
बाढीले हाइड्रोमेकानिकल उपकरणहरू (ग्याट्री क्रेनहरू) बगाउनुका साथै अन्य हाइड्रोमेकानिकल गेट तथा उपकरणहरूमा क्षति भएको थियो। बाँधस्थल जाने स्थायी पुलको जग र संरचनाहरू लेदोले पुरिएकोमा आवास भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
उक्त आवास क्षेत्रमा पार्किङमा रहेका सवारी साधनहरू मध्ये ३ वटा बगाएको र ६ वटा बाढीले पुरेको थियो। विद्युतगृह जाने स्थायी पुलको जगमा क्षति, टेलरेसबाट लेदोसहितको बाढी पसी विद्युतगृहको एआइभी फ्लोर तथा टर्वाइन फ्लोरमा रहेका इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल उपकरणहरू डुबानमा परेकोमा आवास तथा गाडीको बीमा दाबी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरिएको थियो।
स्टोरमासमेत क्षति भएको थियो। बाढीले जलविद्युत केन्द्रको बाँध स्थल, टेलरेस, सर्ज साफ्ट, आवास क्याम्प जाने पहुँच सडकहरूको अधिकांश स्थानमा कटान गरी पहुँचमार्ग पूर्णरूपमा अवरुद्ध भएकोमा जलविद्युत केन्द्रदेखि बाँधस्थल, सर्ज ट्यांक तथा टेलरेस सम्मको ११ केभी विद्युत प्रसारण लाइन, अप्टिकल फाइबर लाइन, टेलरेसमा रहेको टान्सफर्मर तथा पोलहरू बगाएको थियो।
आयोजना सुरुमा पर्ने भएकाले सबै फिल्टर गर्नुपर्ने अवस्थ रहेको छ। दिनहूँ जस्तो लेदो बगेर आउने र डिसेन्डि बेसिन सफा गर्नुपरेको आयोजनाले जनाएको छ। दिनहुँ आयोजना बन्द गरेर डिसेन्डिङ बेसिन सफा गर्नुपर्दा आयोजनाको आम्दानीमा असर परेको छ। हाल वर्खाले गर्दा कुनै दिन पानी पर्दा दिनमा दुई पटकसम्म सफा गर्नुपरेको छ।
रसुवागढीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रूपैयाँ छ। स्वपुँजी अन्तर्गत ५१ प्रतिशत संस्थापक समूहको र ४९ प्रतिशत सर्वसाधारण सेयर छ। आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भइसकेकाले कम्पनीले ऋण तिर्न सुरु गरी ९ वर्ष (३६ किस्ता) मा सञ्चय कोषसँगको सम्पूर्ण ऋण चुक्ता गर्ने योजनाअनुसार पहिलो किस्ता २०८१ को चैत मसान्तमा ६५ करोड १४ लाख ६० हजार रूपैयाँ भुक्तानी गरिएको छ।
आयोजना निर्माणका बखत पनि विविध काबुबाहिरको परिस्थिति सिर्जना भई तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा सुरु अनुमानको तुलनामा निर्माण लागत वृद्धि भएको थियो।
आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसमेत गरी २४ अर्ब ९९ करोड रूपैयाँ पुगेको छ। यसबाट आयोजना निर्माण लागतको कर्जाः स्वपुँजी अनुपात सुरुको ५०ः५० प्रतिशतबाट परिवर्तन भई ७१ः२९ प्रतिशत कायम भएको छ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुन्छ। बिजुली बेचेर कम्पनीले वार्षिक तीन अर्ब २५ करोड रूपैयाँ आम्दानी गर्छ।
गत वर्षको बाढीले लामो समय आयोजना बन्द हुँदा १ अर्ब ६६ करोड ६७ लाख रुपैयाँ मात्र बिजुली बेचेर आम्दानी गरेको छ। गत वर्ष कम्पनी १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ नोक्सानमा रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
