काठमाडौं। गएको भदौमा नेपाल विद्युत प्राधिकरणले पाँच अर्ब ९ करोड रुपैयाँ बढीको बिजुली भारत निर्यात गरेको छ।
विद्युत प्राधिकरणले द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा र विद्युत बजार (एक्सचेन्ज मार्केट) मार्फत गरी दुई माध्यमबाट बिजुली निर्यात गरेको हो।
उक्त अवधिमा दुवै माध्यमबाट गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट बिजुली निर्यात भएको छ। यसको कुल कारोबार रकम ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।
भदौ महिनामा भएको कुल विद्युत निर्यात मध्ये द्विपक्षीय सम्झौतामार्फत भएको निर्यातको हिस्सा बढी रहेको छ। साथै, विद्युत बजारमार्फत पनि उल्लेख्य मात्रामा विद्युत निर्यात भएको छ।
गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात
भोटेकोशीमा आएको बाढीका कारण २२ मेगावाटको चिलिमे तथा ३९ मेगावाट क्षमताका त्रिशूली जलविद्युत केन्द्रको दुई आयोजनाको संरचनामा ठूलो क्षति पुगेपछि बंगलादेशतर्फको निर्यात बन्द भएको प्राधिकरणले जनाएको छ।
भोटेकोशी बाढीबाट १११ मेगावाटको रसुवागढी, ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए, ५ मेगावाटको मैलुङखोला आयोजनामा ठूलो क्षति भएपछि उत्पादन बन्द भएको छ।
अन्य जलविद्युत केन्द्रबाट बंगलादेशतर्फ विद्युत निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोधसमेत गरिसकिएको प्राधिकरणले जनाएको छ।
विद्युत् व्यापारमा नेपालको ऐतिहासिक उपलब्धि, निर्यातबाट २९ अर्ब आम्दानी
विद्युत प्राधिकरणले आगामी दिनमा बिजुली निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ।
गत वर्ष छिमेकी भारत र बंगलादेशमा विद्युत निर्यात ६८ प्रतिशत बढेको थियो। गत आर्थिक वर्षमा विद्युत प्राधिकरणले सीमापार विद्युत व्यापारबाट २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो। गत वर्ष १२०० मेगावाट निर्यात हुँदा ७५० मेगावाट आयात भएको प्राधिकरणले जनाएको छ।
आन्तरिक उत्पादन बढेपछि यसबीचमा नेपालले आयात गर्ने विद्युत परिमाण भने घटेको छ। गत आर्थिक वर्षमा १० अर्ब ५६ करोड रुपैयाँबराबरको मात्र बिजुली आयात गरेको छ। अघिल्लो वर्ष १६ अर्ब रुपैयाँ बढीको विद्युत भारतबाट आयात गरेको थियो।
गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालले कुल १ अर्ब १७ करोड १० लाख युनिट विद्युत भारतबाट आयात गरेको थियो।
विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।