काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्।
बैठक देउवा निवास बुढानीलकण्ठमा महामन्त्रीद्वयका प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाएको देउवा निकट स्रोतले बताएको छ। बैठक सोमबारै बस्नेछ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमा देउवाको असहमति छ।
थापाले प्रस्तावमा उल्लेख गरेको चुनावी गठबन्धनसम्बन्धी विषय र शर्माको प्रस्तावमा रहेको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको सन्दर्भ हटाउन देउवाको दबाब छ।
तर दुवै महामन्त्रीले यी विषयलाई प्रस्तावबाट हटाउन अस्वीकार गरेका छन्। यसपछि उनीहरुमाथि दबाब सिर्जना गर्ने देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका हुन्।
कांग्रेसले तयार पारेको महासमिति बैठकको कार्यतालिकाअनुसार मंगलबार बिहान ९ बजे सबै प्रस्ताव पेस गर्नुपर्नेछ।
तर महाधिवेशन उद्घाटन भइसकेपनि देउवा महामन्त्रीले तयार पारेका प्रतिवेदनमा असन्तुष्टको असन्तुष्ट नै छन्। यद्यपि उनले आफ्नो धारणाअनुसार राजनीतिक प्रस्ताव सहमतिमै तयार पार्ने प्रयास गरिरहेको देउवा निकट स्रोतको भनाइ छ।
यसअघि महामन्त्रीहरू थापा र शर्मासँग भएका एक्लाएक्लै छलफलमा सहमति जुट्न सकेको थिएन।
यस्तै, बैठकमा विवादित महासमिति सदस्यका बारेमा पनि छलफल हुने देउवा निकट स्रोतले बताएको छ। काठमाडौँ-३, ओखलढुंगा र दोलखामा महासमिति सदस्यको विवाद छ।
चुनावमा गठबन्धन नगर्ने प्रतिवेदन सच्याउन थापालाई देउवाको दबाब!


