काठमाडौँ- नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार संसदबाट लगाएका आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको छ। सरकारले निष्पक्ष छानबिन वा अनुसन्धान जे गर्ने भएपनि सहयोग गर्न पार्टी तयार रहेको समेत कांग्रेसले बताएको छ।
कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले रवि लामिछानेले प्रतिनिधिसभामा उठाएका विषयहरु असत्य, असभ्य, भ्रामक र हिंस्रक भएको ठहरसमेत गरेको छ।
‘उपप्रधानमन्त्री र गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेकाले अरूलाई प्रश्न उठाउने होइन। आफ्नोबारे जवाफ दिने हो,’ उनले भने, ‘अरूलाई आरोप लगाएर उहाँले आफू अभियोगबाट भाग्ने काम गर्नुभएको छ। उहाँको अभिव्यक्तिको कांग्रेसले धोर निन्दा र भर्त्सना गरेको छ। यसका बारेमा प्रधानमन्त्रीको पनिगम्भीर ध्यानाकर्षण गराएका छौँ।’
संसदीय दलको बैठक सकिएपछि कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ। बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेता सहभागी छन्। बैठकले सदनमा प्रस्तुत हुने साझा धारणा तय गर्नेछ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ। तर सरकार पक्षले विपक्षीले भनेजस्तो समिति गठन नगर्ने अडान राखेपछि कांग्रेसले सदनमा अवरोध गर्ने चेतावनी दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ।


