काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कामकारबाही गर्न छोडेर स्टन्टतर्फ ध्यान केन्द्रित गरेकी छन्।
आफूले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा पत्रकारहरूलाई बोलाएर उनले ‘स्टन्टबाजी’ गरेकी हुन्।
आफूले गरेका कामको फेहरिस्त सुनाउँदै उनले विश्वविद्यालय केही व्यक्तिहरुका कारण असुरक्षित रहेको बताइन्।
आफू नै कारबाही गर्ने कुर्सीमा बसेर पनि उनले आफ्नो कर्तव्य भुल्दै ‘स्टन्ट’को साहरा लिनुपरेको हो।
सरकारका मन्त्रीहरूले कुनै पनि व्यक्तिबाट असुरक्षाको महसुस गरे कारबाही गर्ने हैसियत राख्ने भएपनि मन्त्री विद्याले भने मिडियाबाजी गरेर चर्चा कमाउने प्रयास गरेकी हुन्।
असुरक्षित अवस्थाको अन्त्य गर्न आवश्यक पर्दा सरकारले हस्तक्षेप गर्नुपर्ने बताइन्। तर कुन व्यक्ति वा समूहबाट चाहि असुरक्षा भएको हो भन्ने विषय मन्त्री भट्टराईले खुलाइनन्। उनले राजनीतिक दल र विद्यार्थी युनियनभन्दा बाहेकको एउटा समूहबाट असुरक्षित भएको अमूर्त कुरा गरेकी छन्।
उक्त समूह विश्वविद्यालयमा निरन्तर बस्ने र प्राध्यापकहरुलाई धम्क्याउने गरेको बताए पनि त्यसका लागि उनले कस्तो प्रयास गरिन् भन्ने कुरा चाहिँ खुलाएकी छैनन्।
यसरी मन्त्री विद्या भट्टराईले स्टन्ट गरेको यो नै पहिलो पटक भने होइन।
२०८१ भदौ ५ गते फेसबुकमा स्टाटस लेख्दै उनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई लगातार धम्की आएको भन्दै सुरक्षाका लागि सरकारसँग नभई जनतासँग अपिल गरेकी थिइन्। फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी थिइन्।
‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ’ मन्त्री भट्टराईले लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’
गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै उनले यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न समेत गृह मन्त्रालयलाई अनुरोध गरेकी थिइन्।



