काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह यस्तो परिस्थितिजन्य चपेटामा परेका छन् जहाँ उनलाई एकपछि अर्को ‘प्रश्न’ आइलागेको छ। मेयर शाहको एउटा वैदेशिक भ्रमणबारे सोधपुछ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। गत वर्ष जेठमा फ्रान्समा भएको ७७ औँ कान्स फिल्म फेस्टिभलमा सहभागी भएको विषयमा सोधपुछ गर्न अख्तियारले बालेनलाई बोलाएको हो। फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरुलाई पनि कर्मचारीको रूपमा सहभागी गराएको विषयमा अख्तियारले जानकारी दिन भनेको छ।
सो भ्रमणमा बालेनको टिमले कम्तिमा पनि ५२ लाख रुपियाँ महानगरबाट खर्च गरेको विवरण सार्वजनिक भएको छ। कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुन मेयर शाह गत वर्ष फ्रान्स गएका थिए। गत २०८१ जेठ १ गते फ्रान्स गएका साह ७ जेठमा नेपाल फर्किएका थिए। त्यहाँ जाँदा उनले सुनील लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रुपमा सहभागी गराएको विषयमा अख्तियारमा उजुरी परेपछि सो विषयमा जानकारी दिन आग्रह गरेको हो।
यता, महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा महानगरको खर्चमा उच्च अनियमितता देखिएको भन्दै मेयर शाहमाथि अर्को महत्वपूर्ण प्रश्न उभ्भिएको छ। उक्त प्रतिवेदनअनुसार बालेनसहित महानगरका कर्मचारीहरूले विदेश भ्रमणमा गरेको खर्च रकम नियमसम्मत नभएको देखिएको छ । वैदेशिक भ्रमणमा भएको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमितता देखिएको हो।
प्रतिवेदन अनुसार फ्रान्सको पेरिस, ब्राजिल, भारत र बंगलादेश लगायतमा गरिएको खर्चमा अनियमितता पाइएको छ। भने बालेनले विदेश भ्रमणमा जाँदा अनुमतिसमेत नलिएको खुलेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट भ्रमणमा संलग्न कर्मचारीको मनोनयन हुनुपर्ने व्यवस्था रहेको छ, तर मेयर बालेन शाहसहित महानगरका कर्मचारीहरू भ्रमणमा मनोनयनबेगर गएको महालेखाले उल्लेख गरेको छ। यसरी गएको भ्रमण र भुक्तानीमा भएको खर्च नियमसम्मत नभएकोसमेत महालेखाले उल्लेख गरेको छ। अनुमति नलिई फ्रान्सको पेरिसस्थित ७७औँ क्यानेस फिल्म फेस्टिभलको भ्रमण, सल्लाहकार सुनिल लम्साल र कुमार व्यञ्जनकारसहित ब्राजिल र फ्रान्स भ्रमण, महानगरका कर्मचारी, सामुदायिक विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरूको नेपालका विभिन्न स्थान भ्रमण र बंगलादेशमा शैक्षिक अध्ययन अवलोकन भ्रमणमा सान्भी टुर्स एन्ड ट्राभल्स प्रालिलाई दिइएको १९ लाख ७४ हजार ६७५ रुपैयाँमाथि पनि प्रश्न उठाइएको छ।
त्यसैगरी, काठमाडौं महानगरले सिसिटिभी जडान तथा मर्मत सम्बन्धी कार्यमा बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्नेमा कार्यक्रम टुक्रा पारी सोझै खरिद गरेर उक्त रकम अनियमितता गरेको भन्दै महालेखाले प्रश्न उठाएको छ। जहाँ महानगरले योजना मात्र बनाएर सोझै खरिद विधी अवलम्बन गरी ३४ लाख ९१ हजार ६५५ रुपैयाँ खर्च गरेको छ। उक्त रकम समेत अनियमितता भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, महानगरले वडाका विभिन्न स्थानमा सीसीटीभी जडान कार्यका लागि ३० लाख रुपैयाँ विनियोजन भएकोमा विनियोजित रकमको १० लाखमुनिका तीनवटा योजना बनाई सोझै खरिद विधि अवलम्बन गरी २२ लाख ४८ हजार ८११ रुपैयाँ खर्च गरेको महालेख प्रतिबेदनले बोलेको छ। बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्नेमा कार्यक्रम टुक्रा पारी सोझै खरिद गरिएकाले नियम संगत नदेखिएको महालेखाले जनाएको छ। महानगरका अधिकांश वडामा बोलपत्र आह्वान नगरी सोझै खरिद गरिएको पाइएको छ। बोलपत्र आह्वान नगरी सोझै खरिद गर्नु नियमावलीविपरीत हुने प्रतिवेदनले औँल्याएको छ ।
त्यसैगरी,महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार काठमाडौँ महानगरपलिकामा २.४७ प्रतिशत बेरुजु देखिएको पनि उल्लेख गरेको छ। जुन बेरुजु रकम ६८ करोड २ लाख रहेको महालेखाको प्रतिवेदनले औँल्याएको छ।
त्यसैगरी,आन्तरिक पर्यटन÷भ्रमण कार्यक्रममा समेत अनियमितता भएको पाइएको छ। बागमती प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ को दफा १२, १३ र १४ मा पदाधिकारी सुविधासम्बन्धी व्यवस्था गरिएको छ। जसअनुसार महानगरपालिकाले ऐनले तोकेकोभन्दा बढी सुविधा निर्धारण गर्न नसक्ने तथा यस ऐनमा भएबाहेकका अन्य सुविधामा प्रदेश सरकारले समयसमयमा निर्धारण गरेबमोजिम हुने उल्लेख छ। तर महानगरपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धन तथा पुनर्ताजगी गर्ने उद्देश्यले जनप्रतिनिधिका लागि काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि आन्तरिक पर्यटन÷भ्रमण कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७७ स्वीकृत गरी ५० लाख बजेट व्यवस्था भएकोमा २६ लाख १४ हजार खर्च गरेको छ।
महानगरमा कर्मचारी आन्तरिक पर्यटन पुनर्ताजगी कार्यक्रममा १ करोड ६८ लाख ९३ हजार १०५ रुपैयाँ र सामाजिक सुरक्षा कोष कट्टीमा ९७ लाख ११ हजार ५३३ रुपैयाँ अनियमितता भएको महालेखाको प्रतिवेदनले औँल्याएको छ।
सोलार जडित बस स्ट्यान्डका नाममा भएको ६ लाख ६३ हजार ४७२ रुपैयाँ असुल गर्न महालेखाले निर्देशन दिएको छ।
यता, गत जेठ १ गते महानगर प्रमुख बालेन्द्र शाहले अचानक कार्यपालिकाका चार समितिमा नयाँ संयोजक बनाएपछि बढेको द्वन्द्वले शिखर नै चुम्न लागेको छ। जसको कारण काठमाडौँ महानगर र जनप्रतिनिधिबीच खिचातानी र द्वन्द्व चलिरहेको छ। जसले गर्दा महानगरको नयाँ आर्थिक वर्ष २०८२/०८३ को बजेट समेत ओझेलमा परेको छ। अवस्था यहि रहे महानगरले नयाँ आर्थिक वर्षको लागि बजेट ल्याउँछ भन्ने अनुमानसम्म कसैले गर्न सकेका छैनन्।
आन्तरिक द्धन्द्धमा फसेको काठमाडौँ महानगर अख्तियारले सोधपुछको लागि बोलाउनु र महालेखाले अनियमितता गरेको प्रतिवेदन सार्वजनिक भएसंगै मेयर साह अब कसरी महानगर सम्हाल्दै अगाडी बढ्लान भन्ने जनचाँसो समेत देखा परेको छ। आन्तरिक द्धन्द्धमा फसेर ६ महिनादेखी कार्यपालिका बैठक बोलाउन नसकेर चौतर्फी आलोचना खेपी रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन अब कसरी अगाडि बढ्लान्? त्यो भने हेर्न बाँकी नै छ।
द्वन्द्वकै बीच काठमाडौँ महानगरको बजेट सम्भव होला?
कान्स फिल्म फेस्टिभलमा गएको विषयमा सोधपुछ गर्न बालेनलाई अख्तियारले बोलायो
काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीयसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
