काठमाडौँ- स्पेनमा भएको संयुक्त राष्ट्रसंघीय कार्यक्रमका लागि भनेर गएकाहरू नफर्किएको विषयमा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।
गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई बोलाएर मन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलका साथै विभिन्न एनजीओ/आईएनजीओहरूका तर्फबाट पनि प्रतिनिधिहरू गएका थिए। गैरसरकारी टोलीका केही व्यक्ति नफर्किएका विषयमा संसद र सामाजिक सञ्जालमा विरोध भइरहेको छ।
‘प्रधानमन्त्रीज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को-को गए? कुन विधिप्रक्रिया अपनाए? कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न मन्त्री लेखकले निर्देशन गर्नुभएको छ,’ मन्त्री लेखकको सचिवालयको भनाइ छ, ‘जानका लागि भिजिट भिषाको प्रबन्ध कस्ले गर्यो? लगायतका विषयमा अनुसन्धान हुनेछ।’
उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ। ‘यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ,’ उनको भनाइ थियो। प्रधानमन्त्री ओली गत १४ असारमा स्पेन भ्रमणमा गएका थिए।
आइजीपी र गृहसचिवलाई निर्देशन गरेपछि लेखकले आफ्नो प्रहरी मातहतका सीआईबी र मानव बेचबिखन ब्युरोका प्रमुखलाई पनि आकस्मिक बैठकमा डाकेका छन्।
गृहसचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सीआईबी प्रमुख एआईजी चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजालसहितको बैठक बोलाएका हुन्।
सोमबार दिउँसो साढे १ बजे गृह मन्त्रालय बैठक बोलाइएको छ।
यस्तो रहेछ स्पेनको यूएन कार्यक्रममा लैजाने गिरोहको कीर्ते धन्दा


