काठमाडौँ: सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको बझाङ–बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा कम्पनी छनोट भएका छन्। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रवक्ता नगेन्द्र चौधरीले यो आयोजना निर्माणका लागि निजी क्षेत्रका तीन र सरकारी क्षेत्रका तीन कम्पनी सहित ६ कम्पनी छनोट भएको जानकारी दिए।
उनका अनुसार आयोजनामा सरकारी पक्षबाट राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको २६ प्रतिशत शेयर रहनेछ। त्यसैगरी चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेडको समान १२.५/१२.५ प्रतिशत अंश रहने सुनिश्चित भएको छ।
पश्चिम सेती करिडोरमा लाइन बनाउन ग्रीड कम्पनीले माग्यो दोस्रो पटक आशयपत्र,लागत २० अर्ब
निजीक्षेत्र तर्फबाट यसमा समृद्धि इनर्जी लिमिटेडको सबैभन्दा बढी ३५.१ प्रतिशत लगानी रहनेछ भने ङादी ग्रुप पावर लिमिटेडको ७ प्रतिशत र सिउरी न्यादी पावर लिमिटेडको ६.९ प्रतिशत शेयर रहनेछ। कम्पनीले यसअघि २०८२ भदौ २२ गते लगानीका लागि इच्छापत्र आह्वान गरेको थियो। आठ कम्पनीले आवेदन दिएकोमा ६ कम्पनी छनोटमा परेका हुन्।
करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर रहनेछ। यो प्रसारण लाइन बझाङको चैनपुर सबस्टेसनबाट सुरु भएर डोटीको बनलेक हुँदै कैलालीको दोदोधरा सबस्टेसनसम्म पुग्नेछ। यसको विद्युत् वहन क्षमता २ हजार ५ सय मेगावाट रहनेछ। परियोजना सन् २०३१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसले सुदूरपश्चिमका रणनीतिक जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्नेछ।
राष्ट्रिय ग्रीडले पश्चिम सेती करिडोरमा प्रसारण लाइन बनाउन माग्यो आशयपत्र, अनुमानित लागत २० अर्ब







