बुटवल- पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त आधा शताब्दीयताकै चिन्ताजनक अवस्थामा पुगेको बताएका छन्। पश्चिम नेपाल बस व्यवसायी प्रालिले बुटवलमा आयोजना गरेको साधारणसभालाई सम्बोधन गर्दै एमाले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेलले यस्तो बताएका हुन्।
‘अहिले मुलुकको आर्थिक अवस्था ५० वर्षयताको सबैभन्दा चिन्ताजनक अवस्थामा पुगेको छ,’ उनले भने। मुलुकको आन्तरिक राजस्व अत्यन्त न्यून मात्रामा संकलन भइरहेको उल्लेख गर्दै उनले चालु खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको बताएका हुन्। नेता पौडेलले अहिलेको जस्तो आर्थिक संकट २०२८ सालयता मुलुकले नव्यहोरेको बताएका थिए।
‘राजश्व परिचालन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षको भन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ,’ उनले भने, ‘यो अवस्था आधा शताब्दीयताको सबैभन्दा निराशाजनक हो।’
एमाले उपाध्यक्षसमेत रहेका पौडेलले सामान्य अवस्थामा जस्तो सत्तापक्ष र प्रतिपक्षको क्रियाप्रतिक्रिया जनाउने अवस्थामा मुलुक नभएको उल्लेख गर्दै सबै मिलेर आर्थिक संकटविरुद्ध लड्नुपर्ने बताएका थिए।
बुटवल-नारायणगढ सडक समयमा सम्पन्न नहुँदा यातायात क्षेत्रले भोग्नुपरेको समस्या समयमै समाधान गर्न पनि उनले आग्रह गरेका थिए।
कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मुलुक आर्थिक संकटमा रहेकोले सबैको साझा प्रयासबाट पार लगाउनुपर्ने अवस्था आएको बताएका थिए।
यो पनि:
१ खर्ब ६१ अर्ब घाटामा सरकारी ढुकुटी, ५५ वर्षयताकै कमजोर राजस्व संकलन


