काठमाडौँ– इजरायलमा मारिएका नेपालीहरूप्रति सम्मान गर्ने सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ। मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय सरकारले गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरूको परिवारलाई राहत स्वरूप प्रतिपरिवार दश लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय समेत गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
इजरायलमा मृत्यु भएका १० नेपालीको शव यथाशीघ्र नेपाल ल्याउने समेत निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ। यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई लिनका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स पठाउने समेत निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहयोग गर्न हिब्रू भाषा जान्ने स्थानीयलाई तीन महिना काममा लागउन पनि दूतावासलाई स्वीकृति दिने निर्णय गरेको छ।
यस्तो छ सरकारका निर्णयबारे परराष्ट्रको विज्ञप्ति:
आज मिति २०८० असोज २२ गते बिहान माननीय परराष्ट्रमन्त्रीज्यूको अध्यक्षतामा बसेको समन्वय संयन्त्रको बैठकले ईजरायलको विभिन्न ठाउँमा रहेका नेपालीहरुको अवस्था, उहाँहरुको सुरक्षा, नेपाल फर्कन चाहनेहरुलाई उद्धार गरी नेपाल फिर्ता गर्ने र निधन भएका १० जना नेपाली विद्यार्थीहरुको शव नेपाल ल्याउने लगायतका विषयमा नेपाल सरकारलाई आवश्यक निर्णयका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
आजै अपरान्ह बसेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले निम्न निर्णयहरु गरेको छः
१) मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी दश जना नेपालीहरूको दुःखद् निधन भएकोमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने।
२) यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने।
३) परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने।
४) यस घटनामा परी निधन भएका नेपालीहरूको परिवारलाई राहत स्वरूप प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने, उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा दिने।
५) इजरायलस्थित नेपाली राजदूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने।
६ ) इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत सङ्कलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने। स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरूलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने।
(७) अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरूलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध गर्ने।
८) इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रू भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली राजदूतावासलाई स्वीकृति दिने।
९) इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने। नेपाल फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई स्वीकृति दिने।
१०) इजरायलमा रहेका नेपालीहरूको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने।
११) यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत् प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आह्वान गर्ने।
सम्पर्कविहीन अवस्थामा रहेका १ जना विद्यार्थीको ईजरायल सरकारका सम्बन्धित निकायसंगको समन्वयमा खोजी कार्य जारी रहेको छ। जोखिमयुक्त स्थानमा रहेकामध्ये दुईवटा समुहका विद्यार्थीहरुलाई ईजरायलस्थित नेपाली राजदूतावासको पहलमा तेल अविवमा स्थानान्तरण गरिएको छ। अन्य विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ। साथै, नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत संकलन गरिरहेको छ।
आफू रहेको स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण हुन, उद्धार हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुले नेपाली राजदूतावास, तेल अविबले खुला गरेको अनलाइन रजिष्ट्रेशन प्रणालीमा आफ्नो विवरण यथाशीघ्र प्रविष्ट गर्नुहुन परराष्ट्र मन्त्रालय हार्दिक अनुरोध गर्दछ।
मितिः २०८०। ६। २२, सोमबार।
इजरायलका ३२ विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो [नामावलीसहित]


