ललतिपुर- ललितपुरको बालकुमारीमा प्रहरीको बल प्रयोगबाट मारिएका दुई जनालाई सरकारले सहिद घोषणा गर्ने भएको छ।
गृह मन्त्रालय र मृतकका परिवारबीच भएको सहमतिमा सरकारले उनीहरूलाई सहिद घोषणा गर्ने उल्लेख छ।
सहमतिमा गृह मन्त्रालयमा उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्र साहका बुबा टेकबहादुर साह र सुजन राउतका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका हुन्।
बालकुमारीमा जसरी २ युवाको हत्या भएको छ, योभित्र अर्कै केही छ : प्रधानमन्त्री
यसका साथै मृतकका परिवारका एक-एक जनालाई मिल्दो रोजगारी दिनेसमेत सहमतिमा उल्लेख छ। यसपछि मृतकका परिवार शव बुझ्न तयार भएका छन्। यसअघि नै सरकारले उनीहरूको परिवारलाई १०-१० लाख दिने निर्णय गरिसकेको छ।

शुक्रबार बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु हुनेमा २२ वर्षीय वीरेन्द्र शाह र २३ वर्षीय सुजन राउत छन्।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन दिन पुगेका युवाको आवेदन ईपीएस शाखा कार्यालयले नलिएपछि प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमाथि प्रहरीले बल प्रयोग गरेको थिइो। पछि प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो।
बालकुमारीमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका राउतको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको थियो। भक्तपुर बस्दै आएका राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेका थिए। पछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
बालकुमारीमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु, एक गम्भीर घाइते
शुक्रबार दिउँसो करिब पौने २ बजेतिर राउतको मृत्यु भएको थियो। यस्तै घटनामा परी गम्भीर घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो। बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए। सो क्रममा बालकुमारी-ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो झडपसमेत भएको थियो।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो। पानीजहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्ण भएकाले फारम भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए।
अदालतले उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो। तर ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो। यसपछि अरु विद्यार्थीले आक्रोशित बनेका थिए।
ईपीएसको फारम भर्न गएका युवाले मन्त्रीको गाडीमा आगो लगाए [९ तस्बिर]


