काठमाडौँ- नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ (चुच्चे) नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
गत बिहीबारको नेपालको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा पुरानो नक्सा हटाएर चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो। सोहीबारे भारतीय विदेशमन्त्री जयशंकरसँग पत्रकारहरूले राखेको जिज्ञासामा असन्तुष्टि व्यक्त गरेका हुन्।
‘नोटमा नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन,’ उनले भने।
सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको उनको भनाइ थियो।
२०७७ जेठ ७ गते तत्कालीन सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। चुच्चे नक्सामा नेपालको दार्चुला जिल्लाका गुञ्जी, नाबी, कुटीलगायतका क्षेत्र पनि समावेश छन्।
यसअघि भारतले ३१ अक्टोबर २०१९ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालका ती भूभाग समावेश भएको भन्दै नेपालले विरोध गरेको थियो।
