काठमाडौँ- चालु आर्थिक वर्षको ११ महिना (गत साउनदेखि जेठ)सम्ममा आन्तरिक राजस्व विभागले ४ खर्ब ८ अर्ब ६४ करोड रुपैयाँ कर सकंलन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा विभागले करिब १ अर्ब ७९ करोड रुपैयाँ कम राजस्व संकलन गरेको हो।
विभागले आयकरतर्फ १ खर्ब ७० अर्ब रुपैयाँ संकलन गरेको छ। गत वर्ष १ खर्ब ८२ अर्ब रुपैयाँ आयकर संकलन भएको थियो। गत वर्षको तुलनामा आयकर करिब १२ अर्ब कम हो।
चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै आयकर ११ अर्ब ३४ करोड असुल उपर भएको छ। गत वर्षको सोही अवधिमा आयकर ८ अर्ब ८३ करोड रुपैयाँ मात्रै संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ।
आन्तरिकतर्फ मूल्य अभिवृद्धि कर (भ्याट) ९९ अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षको भ्याट करिब ४९ करोडले कम असुल उपर भएको छ। गत वर्षको यसै अवधिमा भ्याट १ खर्बको हाराहारीमा संकलन भएको थियो।
गत वर्षको तुलनामा ९८ प्रतिशत भ्याट संकलन भएकोमा चालु आर्थिकको जेठ महिनामा भने १० अर्ब ७१ करोड रुपैयाँ संकलन भएको छ। आन्तरिकतर्फको अन्तशुल्क भने गत वर्षको भन्दा १ प्रतिशत बढी असुल उपर भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा ९४ अर्ब ७४ करोड अन्तशुल्क संकलन भएकोमा चालु आर्थिक वर्ष ९६ अर्ब ९० करोड रुपैयाँ संकलन भएको छ।
जेठ महिनामा १२ अर्ब ७८ करोड रुपैयाँ अन्तशुल्क संकलन भएको छ। यस्तै, यस अवधिमा घरबहाल कर गत वर्षको तुलनामा ३ प्रतिशत कम असुली भएको छ।

गत वर्ष २ अर्ब ४३ करोड असली भएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ३९ करोड संकलन भएको विभागले जनाएको छ। जेठ महिनामा मात्रै अन्तशुल्क २ करोड ३० लाख असुली भएको छ।
ब्याज आम्दानी भने गत वर्षको तुलनामा झन्डै ३५ प्रतिशत बढी असुलउपर भएको छ। चालु आर्थिक वर्षको यस अवधिमा ३ अर्ब १३ करोड ब्याज आम्दानी प्राप्त भएकोमा गत वर्षको यसै अवधिमा २ अर्ब ३३ करोड रुपैयाँ प्राप्त भएको थियो।
चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ब्याज आम्दानीबाट १ अर्ब १६ करोड रुपैयाँ सरकारले प्राप्त गरेको छ। यसैगरी विभागले शिक्षा र स्वास्थ्य सेवा कर पनि गत वर्षको भन्दा बढी नै असुल उपर गरेको छ।
स्वास्थ्य क्षेत्रबाट सरकारले हालसम्म ६ अर्ब ३८ करोड राजस्व प्राप्त गरेको छ। गत वर्षको यसै अवधिमा विभागले स्वास्थ्य सेवाबाट ५ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। शिक्षा क्षेत्रबाट विभागले १ अर्ब ६६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
गत वर्षको यसै अवधिमा विभागले यस क्षेत्रबाट १ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। गत वर्षको तुलनामा विभागले शिक्षा क्षेत्रबाट करिब ६६ प्रतिशत कर असुली गरेको छ।
भन्सार संकलनमा सरकारलाई धक्का, लक्ष्यको ५८ प्रतिशत मात्रै असुली


