झापा- सर्वसाधारणको करोडौँ रकम ठगेर फरार रहेका गौरादह -१ का सुनचाँदी व्यवसायी सोम विश्वकर्माले प्रहरी सामु आत्मसमपर्ण गरेका छन्। बिहीबार विश्वकर्माले झापा प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।
झापा प्रहरीका अनुसार विश्वकर्मा भारतमा रहेका आफन्तको शरणमा रहेका थिए। आफन्तले बिहिबार दिउँसो उनलाई काकड्भिट्टासम्म ल्याइदिएका थिए। त्यसलगतै विश्वकर्मा स्वयं प्रहरी सम्पर्कमा आएको जनाइएको छ। प्रहरीले अनुसन्धान गरिरहेको र उनलाई चाँडै सार्वजनिक गर्ने जनाइएको छ।
गौरादह बजारका सुनचाँदी व्यापारी सोमराज विश्वकर्माबाट ठगिएको भन्दै ४६६ जनाले निवेदन दिएका थिए। यसपछि नगरपालिकाले उनको नाममा रहेका सबै चलअचल सम्पत्ति रोक्का गर्नका लागि सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय गरेको थियो।
सर्वसाधारण मात्र २५ करोडभन्दा बढी रकम ठगी भएको निवेदन नगरपालिकाको न्यायिक समितिमा निवेदन परेपछि नगरपालिकाले यस विषयमा छानबिन गरेको थियो। सोमराजका साथै उनकी श्रीमती शुभद्रा विक र नातेदारको पनि सम्पत्त रोक्का गर्ने निर्णय भएको थियो।
करोडौँ ठगेका सोमराजको चलअचल सम्पत्ति रोक्का, कसरी छानबिन गर्दैछ नगरपालिका?
विश्वकर्माले बैंक तथा वित्तीय संस्थाबाट पनि ठूलो मात्रामा कर्जा लिएको बताइएको थियो। विश्वकर्माले आफूबाट लगेको भन्दै रकम दावी गर्नेमध्ये गौरादह नगरपालिकाबासी ८५ प्रतिशत छन्। बाँकी १५ प्रतिशत गौरादहसँगै जोडिएको कमल गाउँपालिका तथा मोरङ, उर्लाबारी र विर्तामोडबाट समेत निवेदन परेको वडा कार्यालयले जनाएको छ।
विश्वकर्माको गाउँ गौरादह नजिकैको महारानीझोडा मझुवामा पर्छ। उनले त्यो गाउँका स्थानीयसँग मात्र ५ करोडभन्दा बढी रकम उठाएको देखिएको छ। त्यहाँका सिधासाधा जनतालाई बढी ब्याज दिने प्रलोभनमा पारेर सिंगो गाउँवासीलाई पिडित बनाएको रहस्य खुलेको छ।
विश्वकर्मा विगत १ वर्ष अगाडिबाटै व्यावसायिक रुपमा समस्या फसिसकेका थिए। सोही समयदेखि नै विश्वकर्माले कोभिड-१९ र आर्थिक मन्दीको बाहना देखाउँदै गौरादहभन्दा बाहिर लुकिछुपी बस्दै आएका थिए। आफ्नो जायजेथा बिक्री गरेर भएपनि व्यवहार मिलाइदिने आवश्वासन सबैलाई दिएका विश्वकर्माले असार १५ गते गौरादह वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीलाई पत्र पठाएपछि गौरादहबासी चकित भएका थिए।
आर्थिक मन्दीका कारण ऋण तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वडाअध्यक्ष भण्डारीलाई सम्बोधन गर्दै गौरादह उद्योग वाणिज्य संघको समन्वयमा आफ्नो व्यवहार मिलाइदिन र आफूलाई नखोज्न भन्दै हस्तलिखित पत्र पठाएका थिए। आफ्नो श्रीसम्पत्ति तथा परिवार छोडेर हिँडेको र कतिपयलाई सावाभन्दा ब्याज बढी दिएको भन्दै उनले आफ्ना ग्राहकलाई पर्न गएको असुविधाप्रति क्षमायाचनापत्र मार्फत गरेका थिए।


