काठमाडौंँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करी प्रकरणमा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन्। कांग्रेस संसदीय दलको बैठकमा सोमबार उनले यस्तो बताएका हुन्।
आफ्नो अनुकूलतामा भ्रष्टाचार र तस्करी काण्डका फाइल खोल्ने र बन्द गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको भनाइ छ। महराबारे पार्टीले नभई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गरी स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए।
‘सुन तस्करी प्रकरणमा नाम जोडिएका सबै अनुसन्धानको दायरामा आउनुपर्छ। माओवादीको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महरालाई यसबारे स्पष्ट पार्न भनेछ,’ थापाले भने, ‘यो प्रकरणमा स्पष्ट त अनुसन्धानपछि सीआईबीले पारिहाल्छ नि, पार्टीले गर्ने हो र ?’
नेताहरूले आफू जोडिएको काण्ड दबाउनुपर्ने तर अरु नेता जोडिएको काण्डमाथि छानबिन गर्नुपर्ने बताउन थालेपछि सबै खाले काण्डमाथि छानबिन हुन जरुरी रहेको बताएका थिए।
‘केही दिन अगाडि डा. बाबुराम भट्टराईले लडाकु शिविर घोटालाको छानबिन गरौं भन्नुभयो ।ललिता निवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो,’ उनले भनेका थिए, ‘हिजोआज शीर्ष नेताहरुको यस्तै भनाइ सुनिन्छ, कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने ? तिम्रो नाम जोडिएको काण्ड के हो त?’
आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने अवस्था बदल्न आवश्यक रहेको उनको भनाइ थियो। ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं,’ महामन्त्री थापाको भनाइ छ, ‘अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस, नाता होस, सांसद होस्, मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन।’
प्रधानमन्त्री प्रचण्ड, सुन प्रकरणमा महराका बाबु-छोरा पक्राउ गर!


